मलंगवा, ०७ साउन – कबिलासी नगरपालिका कार्यालयमा चोरी गर्ने पाँच जना पक्राउ परेका छन् ।
कबिलासी नगरपालिका–८, स्थित नगरपालिका कार्यालयको सामाजिक सुरक्षा शाखाबाट यही साउन ४ गते राति विभिन्न सामग्री चोरी भएको थियो । प्रहरीले चोरीमा संलग्न पाँच जना व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा कबिलासी नगरपालिका–८, का २२ वर्षीय रोहित मिश्र, ४० वर्षीय सुरेन्द्र राय, २० वर्षीय राजु पासवान, २२ वर्षीय ललका पासवान र १९ वर्षीय दीपक पासवान रहेका छन् । उनीहरुविरुद्ध सर्लाही जिल्ला अदालतबाट चोरी सम्वन्धी कसुरमा पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिए ।
नगरपालिकाको कार्यालयबाट चोरी भएका समानमध्ये साउन ५ गते बिहान एक थान प्रिन्टर नगरपालिका कार्यालय नजिकैको नालामा फेला परेको थियो । अन्य सामग्री भने पक्राउ परेकामध्ये २२ वर्षका रोहित मिश्रको घरबाट बरामद भएको डिएसपी राईले बताए ।
प्रहरीले मिश्रको घरमा लुकाएर राखिएको अवस्थामा नगरपालिका कार्यालयबाट चोरी भएको एक थान सिपियु, एक थान मोनिटर, एक थान किबोर्ड, एक थान कुर्सी, एक थान राउटर र एक थान मल्टिप्लग बरामद गरेको छ । सिसिटिभी फुटेजको आधारमा चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।