कुलेखानी ड्याम्मको असर सर्लाहीमा बागमतीले खतराको तह पार गर्यो

लोकप्रिय समाचारदाता

सर्लाहीको कर्मैयास्थित बागमती नदीमा बाढीले खतराको तह पार गरेको छ । आज बिहानको मापन अनुसार पानीको सतह ७ मिटर भन्दा माथि पुगेर खतराको तह पार गरेको त्यहाँस्थित जलमापन केन्द्रले जनाएको छ । बागमतीमा नदीले खतराको तह पार गरेसँगै सर्लाही र रौतहटको तल्लो तटीय क्षेत्रमा जोखिम बढेको छ । नदीमा पानीको बहाब बढीरहेकाले बागमतीको तल्लो तटीय क्षेत्रका वासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ । बागमती बाँधका सबै ढोका खोलिएको छ । मकवानपुरमा कुलेखानीको ड्याम समेत भरिएर आंशिक रुपमा ढोका खोलिएकाले स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आफूहरु सतर्क अवस्थामा रहेको बताउनुभयो । बिहीबार साँझदेखिको अविरल वर्षाले कारण लखन्देही, कालिन्जोर, फूलजोर, बाँकेलगायतका खोलामा पनि निरन्तर बाढी आइरहेको छ । होँचा ठाउँमा रहेका केही घरमा पानी पस्न थालेको छ । निरन्तरको वर्षाले विपन्न परिवार, मजदुर, किसान परिवार समस्यामा परेका छन् ।

Comments
Loading...