जसपा नेपालका नेताहरुद्वारा सामूहिक राजीनामा, राष्ट्रिय मुक्ति पार्टीमा प्रवेश गर्ने

मुकेश झा

सर्लाही, ३० साउन । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य आरती झासहितका नेताहरूले सामूहिक रूपमा पद तथा जिम्मेवारीबाट राजीनामा दिएका छन्। राजीनामा दिएका नेताहरु राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गर्ने जनाईएको छ ।
राजीनामा दिने नेताहरूमा नागेन्द्र प्रसाद यादव क्षेत्रीय अध्यक्ष, संघीय निर्वाचन क्षेत्र नं २, सर्लाही, सुरेश राय यादव पूर्व जिल्ला सदस्य, विजय प्रसाद साह पूर्व जिल्ला सदस्य, सुरेन्द्र कुमार यादव वडा अध्यक्ष प्रत्यासी, हरिपुर्वा–२, प्रमिला देवी यादव जिल्ला अध्यक्ष, समाजवादी महिला संघ नेपाल, सर्लाही, गायत्री देवी जिल्ला उपाध्यक्ष, समाजवादी महिला संघ नेपाल, मुन्द्रिका देवी बैठा पूर्व जिल्ला अध्यक्ष, समाजवादी महिला संघ नेपाल र राम दुलारी साह पूर्व प्रदेश सदस्य, समाजवादी महिला संघ, मधेश प्रदेश रहेका छन्।

यी नेताहरूले २०६३ सालको ऐतिहासिक मधेश आन्दोलनलाई सफल बनाउन तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा सक्रिय भूमिका निर्वाह गरेका थिए। पछिल्ला वर्षहरूमा उनीहरू जसपा नेपालमा विभिन्न जिम्मेवारीमा कार्यरत थिए।

राजीनामा दिने क्रममा उनीहरूले वर्तमान नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टीको संगठनात्मक कमजोरी, स्थानीय समस्या समाधानमा उदासीनता र कार्यकर्ताको सम्मानमा कमी जस्ता कारणहरू उल्लेख गरेका छन्।

राजीनामा पत्रमा हस्ताक्षर गर्दै उनीहरूले सामूहिक रूपमा पार्टी संगठनलाई औपचारिक जानकारी गराएका छन्। यसैबीच जसपा नेपालबाट राजीनामा दिएका नेताहरु शुक्रवार मलंगवामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष राजेन्द्र महतो राष्ट्रिय मुक्ति पार्टी नेपालमा प्रवेश गराउने जनाईएको छ ।

Comments
Loading...