धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

रबिन्द्र ठाकुर

सीमावर्ती क्षेत्रस्थित सर्लाहीको विष्णु गाउँपालिकामा आइतबार एक महिलाको आफ्नै जेठाजुले धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।
भारतसँग सीमा जोडिएको विष्णु गाउँपालिका–३, मधुवनगोठका ४० वर्षीय साहेब पासवानले बुहारी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या गरेका हुन् । साहेबले आइतबार बिहान पौने १० बजे बुहारी रेनुदेवीलाई धारिलो हतियार (फर्सा) प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार साहेबले बुहारी रेनुदेवीलाई शरीरका विभिन्न भागमा १५ पटक भन्दा बढी फर्साले प्रहार गरेका थिए । प्रारम्भिक अनुसन्धानमा जेठाजु साहेब पासवानले आइतबार बिहान बुहारी रेनुदेवीसँग खाना मागेको र सोही समयमा विवाद भएपछि एक्कासी फर्सा निकालेर प्रहार गरेको पाइएको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिनुुभयो ।
शनिबार झै–झगडा भएपछि साहेबकी श्रीमती र छोराछोरी भारतस्थित माइती घर गएको बुुझिएको छ । शनिबारदेखि नै भोको रहेका साहेबले आइतबार बिहान खाना माग्न जाँदा विवाद भएपछि बुहारीमाथि नै धारिलो हतियार प्रहार गरेका प्रहरीले जनाएको छ ।
घटना लगत्तै प्रहरीले साहेब पासवानलाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी मधुवनगोठले तत्कालै नियन्त्रणमा लिएको साहेबलाई थप अनुसन्धान तथा कारवाहीका लागि सदरमुकाम मलङ्गवा ल्याइएको प्रहरी उपरीक्षक सिंहले बताउनुभयो ।
मृतक रेनुदेवीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । रेनुदेवीका श्रीमान गजेन्द्र पासवान मजदुरीका लागि भारतमा रहेका छन् ।

Comments
Loading...