हरिवन, १६ चैत – हाइवे बढाउन काटिएको रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेल र उहाँका दाई विश्वनाथ पौडेलको उपचारमा उचित सहयोग गर्न माग गरिएको छ ।
हरिवन नगरपालिका–४, सासापुर निवासी पत्रकार पौडेल र उनका दाई विश्वनाथ यही चैत ११ गते सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा लक्ष्मीनियाँ चोक नजिक पूर्वपश्चिम राजमार्गलाई ४ लेनको बनाउनका लागि काटिरहेको रुख एक्कासी उनीहरु सवार मोटरसाइकलतर्फ ढलेर किच्दा घाइते भएका थिए । बर्दिवासमा सामान्य उपचारपछि काठमाडौं लगिएका उनीहरुको अहिले नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीमा उपचार भइरहेको पारिवारिक स्रोतले जनायो ।
उपचाररत् पौडेल दाजुभाईको उपचारमा लागेको खर्चको व्यवस्थापन गर्न माग गर्दै नेपाल पत्रकार महासंघ सर्लाही शाखाले हिजो कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) को कार्यालय गौरीडाँडा महोत्तरीमा ज्ञापन पत्र बुझाएको हो । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुर, पूर्व अध्यक्षहरु टंकबहादुर क्षेत्री, विश्वनाथ ठाकुर, महासंघका उपाध्यक्ष मुकेश झा, सचिव सोम दियाली र सह–सचिव जनार्जन खत्रीले सडक योजनाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।
ज्ञापन पत्र बुझ्दै सडक योजना कार्यालयका निमित्त कार्यालय प्रमुखसमेत रहेका इन्जिनियर एवं सूचना अधिकारी रामटहल यादवले घाइते पत्रकार दाजुभाईलाई उपचारको उचित प्रवन्ध मिलाउन कन्सल्टेन्ट र ठेकेदार कम्पनिसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
घटनाको सम्वन्धमा हिजो इलाका प्रहरी कार्यालय बर्दिवासमा भएको छलफलमा लक्ष्मीनियाँ जंगल खण्डको सडक विस्तार गर्ने जिम्मेवारी पाएको रसुवा कन्ष्ट्रक्सनले पत्रकार पौडेल दाजुभाईको उपचारमा लाग्ने खर्च बेहोर्ने सहमति जनाएको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले रुख ढलेर च्याप्दा घाइते भएका पत्रकार पौडेलको परिवारको आर्थिक अवस्थासमेत कमजोर रहेकाले राहत रकमको समेत माग गरेको छ ।