प्रत्येक असारमा कल्भर्ड निर्माणका नाउमा लाखौं निकासा,आवतजावतमा समस्या कायमै
लोकप्रिय समाचारदाता
ब्रह्मपुरी, ०३ फागुन – सर्लाहीको ब्रह्मपुरी गाउँपालिका र हरिपूर्वा नगरपालिकाको सीमामा पर्ने सफा (नख्खा समेत भनिने) नदीमा पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन् ।
ब्रह्मपुरी–६, पिपरा र हरिपूर्वा–३, धनकौल गाउँलाई जोड्ने यो खोलामा वर्षेनि ह्यूम पाइप र कल्भर्ड निर्माण गर्ने गरिए पनि वर्षायाममा बाढी आएर बगाउने गरेको छ । ब्रह्मपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० मा छ लाख ५० हजार रुपियाँ खर्चिएर निर्माण गरेको कल्भर्ड गत असोजको भीषण वर्षापछि आएको बाढीले बगाएको थियो ।
असोजको बाढीले बगाएको कल्भर्ड खोलाको बिचभागमा अलपत्र रहेको छ । हरिपूर्वा नगरपालिका क्षेत्रका स्थानीय सदरमुकाम मलङ्गवातर्फ जान तथा ब्रह्मपुरी र चन्द्रनगर गाउँपालिकाका स्थानीयले हरिपूर्वातर्फ आउजाउ गर्न सफा खोलाको बाटो प्रयोग गर्ने गरेका छन् ।
मोटरसाइकलमा राखेर स्थानीय हाटबजारमा तरकारी बिक्री गर्ने चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका किसान लालबाबु महतोले सफा खोलामा पुल नहुँदा असाध्य सास्ती खेप्नु परेको गुनासो गरे । बाढी आउनेयाममा बाटो नै अवरुद्ध हुने र अहिले हिउँदयाममा समेत पानीमा डुुबेर खोला वारपार गर्नुपरेको महतोले बताए ।
हरिपूर्वा बजारमा तरकारी बिक्री गर्न लैजाँदै गर्दा भेटिएका महतोले गत असोजमा खोलाको बिचमै मोटरसाइकल डुुब्दा मुस्किलले ज्यान बचाएको सुनाए । “खोलामा जहिल्यै पानी आइरहने भएकाले जवरजस्ती मोटरसाइकल वारपार गराउनुपर्ने बाध्यता छ,” महतोले भने,“ कहिलेकाँही मोटरसाइकलले तान्न सकेन भने बिचमै स्टार्ट बन्द हुन्छ, त्यो बेला असाध्य समस्या पर्छ ।”
जिल्लाको दक्षिण–पूर्वी भेगका स्थानीयले पूर्व–पश्चिम हुलाकी राजमार्गपछि सबैभन्दा धेरै सफा खोलाको बाटो प्रयोग गरेर सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्ने गर्छन । ब्रह्मपुरी गाउँपालिका–६, पिपराका स्थानीय रामकैलाश रायले पुल नहुँदा वर्षायाममा सफा खोलाको बाटो हप्तौँसम्म बन्द हुने गरेको बताए ।
खोलामा पुल नहुँदा सर्लाहीका आधा दर्जन बढी गाउँ र महोत्तरीका स्थानीयले समेत सास्ती खेप्नु परेको उनको भनाई छ । “बसन्तपुर, हरिपूर्वासहित महोत्तरीको विभिन्न गाउँ र ब्रह्मपुरी तथा चन्द्रनगर क्षेत्रका स्थानीयलाई खोलामा पुल नहुँदा असाध्य समस्या परिरहेको छ, रायले भने, “स्थायी हिसाबले पक्की पुल निर्माण भइदिए सारै सहज हुुन्थ्यो ।”
वर्षायाममा बाढी आएर बारम्बार ह्यूम पाइप र कल्भर्ड बगाएर हैरान पारेपछि ब्रह्मपुरी गाउँपालिकाले अब भने सफा खोलामा पक्की पुल नै निर्माणका लागि पहल थालेको छ । ब्रह्मपुरी गाउँपालिका–६, पिपराका वडाध्यक्ष हिरेन्द्रकुमार यादवले पुल निर्माणका लागि सङ्घ तथा प्रदेश सरकारमा पहल गरिरहेको जानकारी दिए ।
गाउँपालिकाले पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकिएको जनाएको छ । ह्यूम पाइप र कल्भर्डमा वर्षेनि बजेट खर्च गर्नुको साटो अब पक्की पुल नै बनाउने निष्कर्षमा पुुगिएको वडाध्यक्ष यादवले बताए ।