बागमती नहरको जिर्ण पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु

मुकेश झा

सर्लाहीको बरहथवा नगरपालिका–१७, कटानीमा आज बिहान नहरको पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक मलङ्गवा नगरपालिका–४, का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो । आज बिहान पौने तीन बजेतिर बरहथवा नगरपालिका १७ स्थित वडा कार्यालय नजिकै कटानीबाट कडरिया टोलतर्फ जाँदै गरेको ना. ४६ प २८२० नम्वरको मोटरसाइकल अनियन्त्रित भई घुमाउरो स्थानमा रहेको पुलमा ठोक्किएर तीन मिटरजति तल खसेको प्रहरीले जनाएको छ । मोटरसाइकल पुलबाट खस्दा चालक रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो । रायलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचार गरी थप उपचारका लागि एल.एस. न्यूरो अस्पताल बारा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । राय बिहान दुई÷तीन बजे नै कता हिड्दै थिए भन्ने खुल्न सकेको छैन् । घटनाको सम्वन्धमाअनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईले जानकारी दिनुुभयो । मृतक मोटरसाइकल चालकको शव एल.एस. न्यूरो अस्पताल बारामै रहेको छ । स्थानीयका अनुसार बागमती सिँचाई आयोजनाको नहरमा रहेको उक्त पुलमा बारम्बार सवारी दुर्घटना भइरहेका छन् । बरहथवा नगरपालिका–१७ का वडाध्यक्ष रामविश्वास रायले अत्यन्त जिर्ण र जोखिमपूर्ण अवस्थामा रहेको बागमती नहरको यो पुल कि मर्मत गरिदिन, नभए अर्को नयाँ निर्माण गरिदिन बागमती सिँचाई आयोजनालाई बारम्बार ध्यानाकर्षण गराए पनि सुनुुवाई नगरेको गुनासो गर्नुभएको छ । पछि बनाइएको कालोपत्रे सडक अग्लो भएको तर वर्षौ पुरानो पुल भने होँचो भएकाले सवारी चालकले पुल रहेको थाहा नै नपाउँदा दुर्घटना बढेको वडाध्यक्ष रायले बताउनुभयो । पुलमा दायाँबायाँ रेलिङ समेत नहुँदा जोखिम बढेको स्थानीयले बताएका छन् ।

Comments
Loading...