मोटरसाइकल दुर्घटनामा कविलासी ४ का पूर्व वडाध्यक्षको मृत्यु

लोकप्रिय समाचारदाता

सर्लाहीको कविलासी नगरपालिका–४, हेमपुरका पूर्व वडाध्यक्ष ४३ वर्षीय अरविन्द कुमार यादवको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ ।

गएराति बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा भएको दुर्घटनामा निधन भएको हो । राति साँढे ९ बजेतिर टिकुलियाबाट बरहथवातर्फ गइरहेको प्रदेश २–०३–०२० प ३२४५ नम्वरको मोटरसाइकल पल्टिएर दुर्घटना हुँदा यादवको ज्यान गएको प्रहरीले जनायो ।

यादवलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको छ ।

मृतक यादवको शव पोष्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।

सर्लाही प्रहरीका प्रमुख एसपी रविन्द्रबहादुर सिंहले दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको बताए । उनी आफै दुर्घटनापछि घटनास्थलमा पुगेका थिए ।

नेकपा एमाले जिल्ला कमिटीका सदस्य समेत रहेका यादव २०७९ को निर्वाचनमा समेत एमालेबाट वडाध्यक्षको प्रत्यासी थिए ।

Comments
Loading...