समाजसेवी युवा नेत्री मधु कार्कीले गरिन् १५५ बालबालिकालाई कक्षा १२ सम्म पढाउने घोषणा

लोकप्रीय अवाज समाचारदाता


माघ ९, सर्लाही ।। समाजसेवी एवम् संचारकर्मी मधु कार्कीले १५५ जना विपन्न विद्यार्थीहरुको अभिभावकत्व ग्रहण गर्नुहुँदै उनीहरुलाई १२ कक्षा सम्म पढाउने प्रतिवद्धता गर्नुभएको छ ।
जर्मन बस्दै आउनुभएकी समाजसेवी नेतृ कार्कीले लालबन्दी नगरपालिका ५ रंजितपुरस्थित महेन्द्र आदर्श प्राथमिक विद्यालयमा अध्ययनरत माझी, मुसहर तथा विपन्न समुदायका १५५ जना विद्यार्थीलाई कक्षा १२ सम्म लाग्ने सबै प्रकारका शुल्क आफूले तिरीदिने र उनीहरुलाई वार्षिक रुपमा एकसरो विद्यालय पोशाक र एकएक थान झोला समेत उपलब्ध गराउने कबुल गर्नुभएको हो ।
समाज रुपमान्तरणको पहिलो खुड्किलो नै शिक्षा भएकोले आफूले विपन्न बालबालिकाको शिक्षामा लगानी गर्ने सोच बनाएको बताउनुहुँदै उहाँले सो विद्यालयका सबै बालबालिका जुनसुकै विद्यालयमा पढे पनि उनीहरुले विद्यालयमा तिर्नुपर्ने सबै प्रकारका शुल्क, उनीहरुका लागि बार्षिक एकएक थान स्कुल ड्रेस, झोला तथा कापी कलम उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका १६ मा जन्मिनु भएकी कार्की जर्मन बस्नुहुन्छ । नेपाली उत्पादनलाई विश्व बजारमा पु¥याउने अभियानमा लाग्नुभएकी कार्की गएको मंसीर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उमेदवार बन्नुभएको थियो ।
नेतृ कार्कीले सोमबार वडा अध्यक्ष मिन बहादुर ढुंगेल, सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा, समाजसेवी हरि धमला, विद्यालयका प्रधानाध्यापक आश नारायण चौधरी, जनज्योती माविका शिक्षक सुवास ढुंगाना, गायक सन्तोष दाहाल, बालवालिका र तिनका अभिभावकको उपस्थितिमा विद्यालयमै अन्तरक्रिया कार्यक्र गर्दै सो घोषणा गर्नुभएको वडा अध्यक्ष मिन प्रसाद ढुंगेलले जानकारी दिनुभयो ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला नेतृ कार्कीले बालवालिकालाई पढ्ने वातावरण सिर्जना गरिदिन तिनका अभिभावकलाई पनि आग्रह गर्नुभयो । उहाँले बालबालिकाका अगाडि धुम्रपान, मद्यपान नगर्न र उनीहरुलाई गाली नगर्न तथा नियमित विद्यालय पढाउन आग्रह गर्नुभयो ।
उहाँले आफू पनि महिला नै भएकोले महिलाको पीडा आफूले बुझेको भन्नुहुँदै महिलाहरुलाई आयआर्जन गर्ने वातावरण पनि आफूले बनाउने बताउनुभयो । उहाँले महिलाहरुलाई सिप सिकाई झोला तथा अर्गानिक अचार उत्पादन गर्न लगाउने र उहाँहरुले उत्पादन गरेको सामाग्री आफूले खरीद गरी युरोपियन बजारहरुमा लगेर विक्री गर्ने बताउनुभयो । यसो गर्दा महिलाहरु आर्थिक रुपमा सक्षम हुने र पुरुषमा निर्भर हुनु नपर्ने बताउनुभयो । महिला सक्षम भए बालबालिकाले पनि नियमित विद्यालय जान पाउने वातावरण बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
उहाँले आगामी देखि सुरु हुने नयाँ शैक्षिक सत्रदेखि लागू हुने गरी बालबालिकाको पढाईमा लाग्ने खर्च व्यहोर्ने बताउनुभयो । उहाँले वडाअध्यक्ष मार्फत विद्यार्थीहरुको विवरण तयार गरी आफूलाई उपलब्ध गराउन अनुरोध गर्नुहुँदै बैशाखमा आफै आएर बालबालिकाको खर्च तथा उनीहरुको लागि आवश्यक पोशाक तथा शैक्षिक सामाग्री प्रदान गर्ने बताउनुभयो । आफू जहाँ रहेपनि विद्यार्थीहरुका लागि आवश्यक पर्ने सम्पूर्ण समाग्री आफूले उपलब्ध गराउने उहाँले बताउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक आश नारायण चौधरीले स्वगत मन्तव्य राख्नुभएको थियो भने वडाअध्यक्ष मिन प्रसाद ढुंगेल, स्वतन्त्र उमेदवार बैकुण्ठ सापकोटा, समाजसेवी हरि धमला, शिक्षक सुवास ढुंगाना लगायतले विद्यालयको अवस्थाका बारेमा समाजसेवी कार्कीलाई अवगत गराउनु भएको थियो ।
त्यस्तै उहाँहरुले आफूहरुको विद्यालयमा आएर बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरिदिनुभएको भन्दै समाजसेवी कार्कीलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...