मलंगवा, १९ असोज – शुक्रबार रातिदेखिको अविरल वर्षाले सर्लाहीमा डुबान र कटानको समस्या सुरु भएको छ ।
लखन्देही नदीले ठाउँठाउँमा तटबन्ध कटान गर्दा डुबानको समस्या सुरु भएको स्थानीयले बताएका छन् । कतिपय स्थानमामा वर्षाको पानीले निकास नपाउँदा दर्जनौँ घरमा पानी पसेको छ ।
कौडेना गाउँपालिका ७ शिवनगरमा लखन्देखी खोलाले बाँध कटान गर्न थालेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । सो क्षेत्रमा आइतबार बिहान प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठसहितको टोली अनुगमनका लागि पुगेको छ ।
शिवनगर गाउँमा भारी वर्षा हुँदा बारम्बार यसरी तटबन्ध कटान गरेर लखन्देखीको बाढी गाउँमा पस्ने गरेको स्थानीय निरज यादवले जानकारी दिनुभयो । यस्तै भारतीय पक्षले अग्लो गरी निर्माण गरेको सडकका कारण पानीले निकास नपाउँदा सदरमुकाम मलङ्गवामा मुख्य नाकासहित प्रहरी चौकी गोरखकाली, भन्सार कार्यालय र आसपासका घर डुबानमा परेका छन् ।
बरहथवा नगरपालिका ७ मा सोती खोलाको पानी पसेपछि १० घरका मानिसलाई बजारमा रहेको टहरामा सारिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले जानकारी दिनुभयो । डुबानमा परेपछि शनिबार राति भैँसी गोठमा सुतेका बसबरिया गाउँपालिका २ धावटोलका ५५ वर्षीय रामसुरत सहनी र ५० वर्षीया सुनिता सहनीलाई उद्धारको तयारी भइरहेको डिएसपी राईले बताए ।
बरहथवा नगरपालिका १६ मा टिकुलिया खोलाको बहाव बढेपछि पासवान र यादव बस्ती जोखिममा परेको छ । मनुष्मारा खोलाले धनकौल गाउँपालिका ३ हरहठवा र ४ महिनाथपुरमा रौतहटको धरमपुरलाई जोड्ने सडक २ किलोमिटर कटान गर्दा आवतजावत पूर्णरुपमा ठप्प भएको छ ।
झिम खोलाले ब्रम्हपुरी गाउँपालिका ४ त्रिभुवननगरमा बाँध कटान गरिरहँदा जोखिम बढेको छ । कौडेना गाउँपालिका ३ र ५ छपकैयामा लखन्दही खेलाको पानी पस्दा १० भन्दा बढी घर डुबानमा परेका छन् ।
चक्रघट्टा गाउँपालिका ५ मा लखन्देही खोलाको बाढी पस्दा १७ घरधुरी र इलाका प्रहरी कार्यालय चक्रघट्टा जलमग्न भएका छन् र हरिवन नगरपालिका ११ चिनमी मिल आसपासमा वर्षाको पानीले निकास नपाउँदा ४० बढी घरधुरीमा पानी पसेको स्थानीय सुरेश भट्टराईले बताए ।
लखन्देही खोलाले बाँध कटान गर्दा कौडेना गाउँपालिका ३ पर्सा र ६ छपकैयामा पानी पस्ने जोखिम बढेको छ । त्यस्तै कौडेना गाउँपालिकाकै वडा नं. ६ सक्रौलमा बाँध कटान गरिरहेकाले जोखिम बढेको छ ।
चन्द्रनगर गाउँपालिका ५ मा अविरल वर्षापछि प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको छ भने प्रहरी चौकी गोडैताको पर्खालमा पनि क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कविलासी नगरपालिका ८ अगर्वामा वर्षाको पानी पस्दा १४ घर डुबानमा परेका छन् ।
अविरल वर्षापछि घरको पर्खाल भत्किएर किच्दा कविलासी नगरपालिका २ पिपरियाका सुधिरसिंह दनुवारकी छोरी नौ वर्षीया शिवानी सिंह घाइते भएकी छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
सर्लाहीमा शुक्रबार रातिदेखि निरन्तर भइरहेको वर्षा आइतबार बिहानबाट रोकिएको छ । लगातारको वर्षा रोकिँदा जनजीवन केही सामान्य बनेको छ ।
भारी वर्षाका कारण जिल्लामा बिजुली अनियमित बनेको छ भने विभिन्न स्थानमा मोवाइल नेटवर्कले काम नगर्दा स्थानीय समस्यामा परेका छन् । सङ्घीय राजधानी काठमाडौंको गाडी नचल्दा उपत्यका फर्कनुपर्नेहरु समस्यामा परेका छन् भने स्थानीय रुटमा चल्ने सवारी साधन निर्वाध सञ्चालन भइरहेका छन् ।