सर्लाहीको लोकराज मार्गमा दुर्घटनाको जोखिम बढदै,मोटरसाइकल र ट्यांकर ठोक्किए, युवकको मृत्यु

मुकेश झा

लालबन्दी, ०७ साउन – पूर्वपश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरस्थित बागवानी लच्कामा ट्याङकर र मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक हरिवन नगरपालिका–४, सासापुरका ३१ वर्षीय रामबहादुर स्याङतानको मृत्यु भएको हो । बागवानीस्थित लच्कामा चार लेनको सडक बनाउनेक्रममा कलभर्ट निर्माण भइरहेको ठाउँमा लालबन्दीबाट नवलपुरतर्फ जाँदै गरेको को. १ ख ५९३८ नम्वरको तेल बोक्ने खाली ट्याङकर र लालबन्दीतर्फ आउँदै गरेको बा. ८७ प १३७० नम्वरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनायो ।

ट्याङकरसँग ठोक्किएपछि गम्भीर घाइते भएका मोटरसाइकल चालक स्याङतानलाई मोडेल अस्पताल लालबन्दीमा सामान्य उपचारपश्चात थप उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले बताए ।

ट्याङकर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

Comments
Loading...