सशस्त्र प्रहरी बलको नं. १० हेडक्वार्टरले मनायो १८ औँ स्थापना दिवस

मुकेश झा

सर्लाहीको कविलासी नगरपालिका–८, अगर्वास्थित सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वार्टरले आज १८ औँ स्थापना दिवस मनाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) कालिदास धौवजीको प्रमुख आतिथ्यतामा सशस्त्रको सर्लाहीस्थित मुख्य कार्यालयले १८ औँ स्थापना दिवस मनाएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जितेन्द्रकुमार महतो, कविलासी नगरपालिकाका प्रमुख ब्रम्हदेव राय, उपप्रमुख पुनम कर्ण, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलगायत सुरक्षा अधिकारी, कार्यालयका प्रमुख र विभिन्न संघसंस्था तथा निकायका प्रमुख एवं प्रतिनिधिको उपस्थिति रहेको थियो ।

गणको स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बललाई सहयोग प्रदान गर्ने व्यक्ति, दिवंगत सशस्त्र प्रहरीका परिवारजन, सशस्त्र प्रहरीको आन्तरिक प्रतियोगिताका बिजेता कर्मचारीलगायतलाई सम्मान र साँस्कृतिक कार्यक्रम गरिएको छ ।

गणको स्थापना दिवसको अवसरमा गणपति एवं सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दले जिल्लामा गणसहित मातहतको २ वटा सीमा सुरक्षा गुल्म, ९ वटा बिओपी र ७ वटा सुरक्षा बेश गरी १९ वटा युनिटले शान्ति सुरक्षा, अमनचयन र राजस्व चुहावट नियन्त्रणमा जिम्मेवारी अनुसार काम गरिरहेको जानकारी गराएका छन् ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै सशस्त्रका डिआइजी धौवजी र प्रमुख जिल्ला अधिकारी श्रेष्ठले गर्भिलो इतिहास बोकेको सशस्त्र प्रहरी बल प्राप्त जिम्मेवारी अनुसार शान्ति सुरक्षा कायम गर्न र खुला सीमाबाट हुने राजस्व चुहावट नियन्त्रणमा अझ जिम्मेवारपूर्वक लाग्न आवश्यक रहेको बताएका छन् ।

Comments
Loading...