स्कुल बसको ढोकाबाट खसेर १३ वर्षीय विद्यार्थीको मृत्यु

मुकेश झा

बरहथवा, २३ साउन – सर्लाहीको बरहथवामा आज अपरान्ह स्कुल बसको ढोकाबाट खसेर एक बालकको मृत्यु भएको छ ।

विद्यालय समय सकेर विद्यार्थीलाई घर छाड्न धनकौलतर्फ गइरहेको कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्वरको बसबाट खसेर धनकौल गाउँपालिका–३, हरकठवाका निसार शेखका छोरा १३ वर्षीय फैजान शेखको मृत्यु भएको हो । आज अपरान्ह साँढे ४ बजेतिर बरहथवा नगरपालिका–८, टाँडीमा बसबाट खसेर गम्भीर घाइते भएका बालकलाई यहाँ सामान्य उपचारपश्चात थप उपचारका लागि आज साँझ नेशनल मेडिकल कलेज वीरगन्ज लैजाँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

बालक सोही विद्यालयमा कक्षा ३ मा अध्ययनरत् रहेका थिए । विद्यालय छुट्टी भएपछि घर फर्किदै गर्दा बालकको दुर्घटनामा परेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) निरन्जन भट्टराईका अनुसार मृतक बालकको शव वीरगन्जमै रहेको छ ।

बस र बस चालक बागमती नगरपालिका–१०, बस्ने २१ वर्षीय राजकुमार यादव प्रहरी नियन्त्रणमै रहेका डिएसपी भट्टराईले अहिले राति उज्यालो अभियानसँग बताए ।

Comments
Loading...