हरिपूर्वामा एकैसाथ २ वटा विद्यालय भवनको शिलान्यास, करोडौँ बजेट प्राप्त

मुकेश झा

जिल्लाको दक्षिण पूर्वी भेगस्थित हरिपूर्वामा आज एकैसाथ दुईवटा विद्यालय भवनको शिलान्यास गरिएको छ ।

्जहाँ एउटै विद्यालयमा आठ करोड लागतमा भवन निर्माण हुने भएको छ । वडा नं. ९ स्थित रामजानकी माध्यमिक विद्यालय बसन्तपुरमा करोडौँको बजेटबाट विद्यालय भवन निर्माण हुने भएको हो ।

भवन निर्माण कार्यको आज बिहान हरिपूर्वा नगरपालिकाका मेयर विनोदकुमार साह तेली र उपमेयर सुमित्रा देवि ग्वारनीले संयुक्त रुपमा शिलान्यास गरे । भवन निर्माणका लागि केन्द्र सरकारको विशेष अनुदान अन्तर्गत प्राप्त बजेटबाट नेशनल अपर जे.भि. सँग आठ करोड पाँच लाख ९६ हजार २५ रुपैयाँ ५६ पैसामा दुई दिनअघि मात्रै सम्झौता भएको छ ।

बहु वर्षे योजना अन्तर्गत तीन वर्षभित्र ३ तले विद्यालय भवन, २ तले प्रशासनीक भवन, पुस्तकालय र चमेनागृह निर्माण हुने छ । रामजानकी माविका प्रधानाध्यापक सन्तोष ठाकुरले नयाँ भवन निर्माण भएपछि पठनपाठनमा थप सहजता आउने विश्वास व्यक्त गरेका छन् ।

मेयर तेलीले पत्रकारहरुसँग कुरा गर्दै नगरभित्र पहिलो पटक यतिधेरै बजेटको योजना शिलान्यास गरिएको दावी गरे । आज नै मेयर साह, उपमेयर ग्वारनी र हरिपूर्वा ८ का वडाध्यक्ष रामेश्वर रायले हरिपूर्वा नगरपालिका–८, स्थित कन्या आधारभूत विद्यालय बसन्तपुरमा विद्यालय भवनको शिलान्यास गरेका छन् । यो विद्यालयमा पनि नयाँ भवन निर्माणका लागि केन्द्र सरकारले नै २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हरिपूर्वा नगरपालिकाले जनायो ।

Comments
Loading...