सर्लाहीको बागमती मोटरसाइकल दुर्घटना- आमाको मृत्यु, दुई छोरासहित सात घाइते

मुकेश झा

सर्लाहीको बागमतीमा आज दिउँसो भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । बागमती नगरपालिका–१२, मा बागमती पुलबाट भरत तालतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्वरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ज ११ प ५५०५ नम्वरको मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका–९, बस्ने ४२ वर्षीया इनरवती देवी चौधरीको मृत्यु भएको हो । आफ्नै छोराले चलाएको मधेश प्रदेश ०३–०३१ प ४९२३ नम्वरको मोटरसाइकल सवार इनरवती पछाडिबाट अर्को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकोमा उपचारका लागि हाइवे ट्रमा सेन्टर चन्द्रनिगापुर पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृतक इनरवतीका छोरा मोटरसाइकल चालक ३२ वर्षीय दीपक चौधरी र सोही मोटरसाइकलमै सवार इनरदेवीका अर्का छोरा २८ वर्षीय रामरुप चौधरी घाइते हुनुभएको छ । सामान्य घाइते रहेका चौधरी दाजुभाईको चन्द्रनिगाहपुरमा उपचार जारी छ । चौधरीका दुई दाजुभाई र आमा सवार मोटरसाइकललाई ठक्कर दिने ज ११ प ५५०५ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका–९, बस्ने २० वर्षीय बिशाल महतो र मोटरसाइकल पछाडि सवार भारतीय नागरिक २० वर्षीय प्रेमकुमार भगत समेत सामान्य घाइते भएका छन् । उनीहरु भने उपचारपश्चात प्रहरीको नियन्त्रणमा रहेका छन् । यस्तै बागमती नगरपालिका–१२, कै बथाने टोलमा बागमतीबाट भरत तालतर्फ नै जाँदै गरेको बागमती प्रदेश ०२–०५७ प ७८७९ नम्वरको मोटरसाइकललाई प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा तीन जना घाइते भएका छन् । दुर्घटनामा पछाडिबाट ठक्कर दिने प्रदेश ०२–०३–००१२ प २४३० नम्वरको मोटरसाइकलका चालक रौतहटको चन्द्रपुर नगरपालिका–१०, का १८ वर्षीय घनश्याम चौधरी, बागमती प्रदेश ०२–०५७ प ७८७९ नं. को मोटरसाइकल चालक रौतहटको दुर्गा भगवती गाउँपालिका–१, बस्ने १८ वर्षीय राजु चौधरी र पछाडि सवार उहाँकी आमा ४५ वर्षीया राधिका देवी चौधरी घाइते हुनुभएको छ । दुवै मोटरसाइकल चालक उपचारपछि डिस्चार्ज भइसकेका छन् भने राधिका देवीको कर्मैयाकै स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ ।

Comments
Loading...