सर्लाहीमा स्यालले टोकेर छ जना घाइते

मुकेश झा

सर्लाहीको कबिलासी नगरपालिका–८, भुताहा चौरीमा शुक्रबार दिउँसो स्यालले टोकेर छ जना घाइते भएका छन् ।

स्यालले टोकेर स्थानीय ३० वर्षीया रन्जुदेवी साह, ८६ वर्षीय रामअशिष पासवान, ६३ वर्षीया दरापती देवी, आठ वर्षीया सुमनकुमारी साह, ४५ वर्षीया भुनेश्वर पासवान र ५० वर्षीया मनतोरिया देवी घाइते भएका छन् । घाइतेको प्रादेशिक अस्पताल मलङ्गवामा उपचार भइरहेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
स्यालले आक्रमण गर्दा रन्जुदेवीको बाँया खुट्टा, रामअशिषको ओठ, दरापतिको दाहिने आँखा, सुमनकुमारीको अनुहार र माथिल्लो ओठ, भुवनेश्वरको दाहिने खुट्टा र घुँडा र मनतोरियाको कम्मर र तिघ्रामा चोट लागेको प्रहरीले जनाएको छ । घाइते छ जनाकै अवस्था सामान्य नै रहेको बताइएको छ ।
शुक्रबार दिउँसो खेतमा काम गर्न गएका र घाँस काट्न गएकाहरुलाई आक्रमक रुपमा दौडिरहेको एउटा स्यालले पालैपालो टोकेर घाइते बनाएको प्रत्यक्षदर्शीले बताएका छन् । उक्त स्याललाई गाउँले मिलेर लखेटी लखेटी मारिएको स्थानीय विकास महतोले बताउनुभयो ।

Comments
Loading...