राइटरखोरमा वनका चौकीदारको विभत्स हत्या, टाउको काटिएको शव भेटियो
लोकप्रिय समाचारदाता
सर्लाहीको ईश्वरपुर नगरपालिका–२, राईटरखोरमा आज सागरनाथ वन विकास परियोजनामा कार्यरत एक जना चौकीदार (वन हेरालु) को विभत्स ढङ्गले हत्या भएको छ । परियोजनामा ज्यालादारीमा कार्यरत राईटरखोरकै ४७ वर्षीय रामइश्वर महतोको हत्या भएको हो ।
महतोको टाउको नै काटिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । घरदेखि करिव ५०० मिटर पर सागरनाथ वन विकास परियोजनाको जङ्गलमा टाउको नभएको अवस्थामा चौकीदार महतोको शव फेला परेको वडाध्यक्ष सुरेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
घटनास्थलमै रहनुभएका उहाँले प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको थाहा पाएको बताउनुभएको छ । आज बिहान ५ बजेतिर जङ्गलभित्र रुख काटेको आवाज सुनेपछि चौकीदार महतो त्यसतर्फ जानुभएको थियो । महतो आज दिउँसोसम्म पनि घर फर्किएर नआएको र फोनसमेत ‘स्वीच अफ’ रहेको पाइएपछि परिवारका सदस्य र छरछिमेकीले खोजी सुरु गरे । खोज्दै जाँदा जङ्गलभित्र टाउको गिँडेको अवस्थामा महतोको शव फेला परेको हो ।
घटनास्थलमा अहिले साँझ धनुषाको लालगढबाट तालिम प्राप्त कुकुरसमेत झिकाएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ । हत्या गरिएका महतोको अहिलेसम्म टाउको फेला परेको छैन् । घटनास्थलमा रहनुभएका सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले आवश्यक अनुसन्धान र शव पोष्टमार्टमका अस्पताल लैजान प्रक्रिया भइरहेको जानकारी दिनुभयो । वनका चौकीदार महतोको विभत्स किसिमले हत्या भएपछि स्थानीय वासिन्दा त्रसित बनेका छन् ।
घटनास्थलमा रहनुभएका सागरनाथ वन विकास परियोजनाका प्रमुख खेमलाल विश्वकर्माले राइटरखोर क्षेत्रमा एक्लै वन रक्षकको काम गर्ने महतोको हत्या असाध्य निर्मम किसिमले भएको बताउनुभयो ।