सर्लाहीको पत्रकारसङ निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया

मुकेश झा

मलंगवा, ०८ फागुन – सदरमुकाम मलंगवामा आज ‘निर्वाचन आचारसंहिता र मिडिया’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको संयोजनमा आयोजित अन्तरक्रियामा सहभागी सर्लाहीका सञ्चारकर्मीले निर्वाचन आचारसंहिताको परिपालना गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । कार्यक्रममा सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले अघिल्ला निर्वाचनहरु भन्दा यो पटक निर्वाचन आचारसंहिता परिपालनामा सुधार भएको पाइएको दावी गरे ।

मिडियाले सचेत गराएकै कारण दल तथा उम्मेदवारले आचारसंहिताको पालना गर्ने अवस्था आएको मुख्य निर्वाचन अधिकृत थपलियाको भनाइ छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले राजनीतिक दलसमेत सहभागी भएर बनाएको निर्वाचन आचारसंहिता पालनामा दलहरु अझ बढी गम्भीर बन्नुपर्ने बताए ।

प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम बिडारीले यो समयमा पत्रकारले उत्तरदायित्व, शिद्धान्त र मर्यादाप्रति अझ बढी ख्याल गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले निर्वाचनको समयमा नकारात्मक समाचारले पार्ने प्रभावप्रति पत्रकारले ध्यान दिनुपर्ने बताए । महासंघका जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा सुरक्षा निकायका प्रमुख, निर्वाचन अधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Comments
Loading...