सर्लाहीमा नेपाल पत्रकार महासङ्घको कार्यालय स्थापना

मुकेश झा

मलंगवा, १६ चैत – जिल्ला सदरमुकाम मलंगवामा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको छ ।

नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसर पारेर आज दिउँसो सर्लाही शाखाको कार्यालय स्थापना गरिएको हो । मलंगवास्थित जिल्ला समन्वय समिति (साबिकको जिविस) भवनमा कार्यालय स्थापना गरिएको हो ।

जिल्ला अध्यक्ष ओमप्रकाश ठाकुरको अध्यक्षता, कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णको प्रमुख आतिथ्यता र जिल्लाभरका पत्रकारको उपस्थितिमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको कार्यालय स्थापना गरिएको हो । जिल्ला समन्वय समितिको कार्यालय नयाँ भवनमा सरेसँगै कार्यालयले उपलब्ध गराएको कोठामा पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको कार्यालय स्थापना गरिएको हो ।

कार्यालय स्थापना भएसँगै जिल्लाका पत्रकारलाई छलफल, बैठक, पत्रकार सम्मेलन तथा अन्य कार्यक्रम गर्ने ठाउँको प्रवन्ध मिलेको छ । जिल्लाका पत्रकारहरुले स्थापना गरेको उक्त कार्यालयको आज नै प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरे, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्कालगायतले निरीक्षण गर्दै शुभकामना व्यक्त गरेका छन् ।

यस्तै नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा आज खोलिएको कार्यालयमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरिएको अध्यक्ष ठाकुरले बताएका छन् ।

Comments
Loading...