मलंगवा, २२ चैत – मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले आज नौ जनालाई पक्राउ गरेको छ ।
मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीले जानकारी दिए । उनीहरुलाई प्रहरीले बिचौलियाको काम गरेको आरोपमा पक्राउ गरेको हो ।
सरकार गरेको निर्णय विपरीत कार्यालयभित्र प्रवेश गरेको भन्दै प्रहरीले मालपोत र यातायात कार्यालय अगाडि बसेर लामो समयदेखि लेखापढी तथा अन्य सहजीकरणको काम गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लगेर राखिएको इन्स्पेक्टर बुढाथोकीले बताए ।
ट्रायल सेन्टरबाट मलंगवा नगरपालिका–६ निवासी २७ वर्षीय जयप्रकाश साह र वडा नं. ८ निवासी २० वर्षीय रबि साह पक्राउ परेका छन् ।
त्यस्तै मालपोत कार्यालयबाट हरिपुर्वा नगरपालिका–६ निवासी ४० वर्षीय प्रमोदकुमार यादव, मलंगवा–१ निवासी ५८ वर्षीय नन्दकिशोर यादव, ब्रह्मपुरी गाउँपालिका–७ निवासी ४५ वर्षीय नागेन्द्र यादव, चन्द्रनगर गाउँपालिका–१ निवासी ४५ वर्षीय रामबिनय राय, कबिलासी नगरपालिका–१ निवासी ३२ वर्षीय रन्जनकुमार ठाकुर, चक्रघट्टा गाउँपालिका–२ निवासी ४० वर्षीय प्रमोद साह र ईश्वरपुर नगरपालिका–५ निवासी ४१ वर्षीय योगेन्द्र महतो नियन्त्रणमा परेका छन्
प्रहरीले सरकारको आदेशमा बिचौलिया भन्दै भकाभक लेखापढी व्यवसायीलाई पक्राउ गर्न थालेपछि सेवाग्राहीहरुको काम भने प्रभावित हुन थालेको छ ।