भारतीय नम्बर प्लेटका गाडी निर्वाध चलाउन दिन सर्लाहीका ८ राजनीतिक दलको माग
लोकप्रिय समाचारदाता
मलंगवा, २९ चैत – सर्लाहीमा क्रियाशील प्रमुख राजनीतिक दलले भारतीय नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाउने तयारी भएको भन्दै विरोध जनाएका छन् ।
आज सदरमुकाम मलंगवामा बसेको विभिन्न आठ राजनीतिक दलको बैठकले भारतीय नम्बर प्लेटका गाडी बन्द गर्ने र भन्सार नबुझाइ सञ्चालन हुन नदिने भनी जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको भन्दै त्यसप्रति आपत्ति जनाएको हो । आठ राजनीतिक दलको बैठकपछि जारी प्रेस विज्ञप्तीमा पूर्ववत् अवस्थामै भारतीय नम्बरका गाडी सञ्चालन गर्न दिन माग गरिएको छ ।

पूर्ववत् रुपमा भारतीय गाडी सञ्चालन हुन नदिए आन्दोलनमा उत्रने आठ राजनीतिक दलले चेतावनी दिएका छन् । प्रेस विज्ञप्तीमा नेकपा एमाले सर्लाहीका अध्यक्ष राजनारायण साह, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, राप्रपा नेपालका जिल्ला अध्यक्ष सत्यनारायण यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष गणेशकुमार यादव, जसपा नेपालका जिल्ला अध्यक्ष रामप्रसाद यादव, जसपाका जिल्ला अध्यक्ष शम्भु यादव र उज्यालो नेपाल पार्टीका जिल्ला उपाध्यक्ष रामस्वार्थ महतोले हस्ताक्षर गरेका छन् ।

प्रेस विज्ञप्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसको भने हस्ताक्षर छैन् ।