आज राति १२ बजे देखि आचारसंहिता लागु, ६ गते उम्मेदवारी दर्ता

माघ ४ सर्लाही  । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष, भयरहित र स्वच्छ बनाउन प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज सदरमुकाम मलंगवामा निर्वाचन आचारसंहिताको सम्वन्धमा जिल्लाका सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मुख्य निर्वाचन अधिकृत थपलियाले निर्वाचनलाई निष्पक्ष बनाउन क्रियाशील रहेको बताउनुभएको हो । उहाँले निर्वाचलाई निष्पक्ष बनाउन सबै पक्षबाट खबरदारी र चासो व्यक्त भइरहनुपर्ने बताउनुभयो । सर्लाही क्षेत्र नं. २ का निर्वाचन अधिकृतसमेत रहनुभएका मुख्य निर्वाचन अधिकृत थपलियाले सबै दल र उम्मेदवारलाई एकरुप किसिमले समान व्यवहार गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको हो ।

सञ्चारकर्मीअघि निर्वाचन आयोगमा दर्ता भइ जिल्लामा क्रियाशील रहेका राजनीतिक दलसँग छलफल गरी आचारसंहिताको पूर्णरुपमा पालना गरी निर्वाचनलाई स्वच्छ बनाउन सहयोग गरिदिन अपिल गरिएको मुख्य निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले निर्वाचनलाई शान्तपूर्ण बनाउन सबै पक्षबाट साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ । उहाँले निर्वाचनलाई प्रभाव पार्ने कुनै गतिविधि भएमा तुरुन्त सुरक्षा निकाय र निर्वाचन अधिकृतको कार्यालयमा जानकारी गराइदिन सञ्चारकर्मीमार्फत स्थानीयसँग आग्रह गर्नुभएको छ।

उहाँले निर्वाचनमा सम्वन्धमा फैलाइएका हल्ला र भ्रामक सूचनाको पछि नलागी निर्वाचनलाई मर्यादित ढङ्गले सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सर्लाहीका प्रहरी प्रमुख योगेन्द्रकुमार खड्काले निर्वाचनका सम्वन्धमा सामाजिक सञ्जालको दुरुपयोग गरी मिथ्या र भ्रामक सूचना फैलाउनेहरुलाई तत्कालै पहिचान गरी कानूनी कारवाही गर्न प्रहरीले बेग्लै शाखा खडा गरेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने र आचारसंहिता विपरीत गतिविधि भए नजिकैको प्रहरीलाई खबर गरिदिन आग्रह गर्नुभएको छ । अन्तरक्रियामा जिल्लाका सञ्चारकर्मीले मतदान र मतगणनाको समयमा सहज ढङ्गले समाचार सङ्कलन गर्ने वातावरण मिलाइदिन निर्वाचन अधिकृत तथा सुरक्षा अधिकारीहरुसँग आग्रह गर्नुभएको छ ।

सञ्चारकर्मीहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी समाचार प्रकाशन तथा प्रशारण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अन्तरक्रियामा सर्लाहीको क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापा, क्षेत्र नं. ३ का निर्वाचन अधिकृत नवराज आचार्य, क्षेत्र नं. ४ का निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरे, सर्लाही जिल्ला अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्री, जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेल, नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, सहित  जिल्लामा क्रियाशील सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो। आज मध्यरातिबाट निर्वाचन आचारसंहिता लागू हुन लागेकाले मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दल र सञ्चारकर्मीलाई बेग्लाबेग्लै राखेर अन्तरक्रिया कार्यक्रम गरेको हो । फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि पर्सी ६ गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ ।

Comments
Loading...