पुस १४ सर्लाही । सर्लाहीमा पछिल्लो समय दलित बालबालिकाको शिक्षामा पहुँच बढ्दै गएको पाइएको छ ।
अभिभावकमा चेतनाको वृद्धि तथा विभिन्न स्थानीय तह, गैरसरकारी संघसंस्था र सामाजिक संघसंस्थाले दलित बस्तीमा पुगेर सचेतनामूलक र आयआर्जन केन्द्रित कार्यक्रम संचालन गरेसँगै उनीहरुले आ–आफ्नो बालबालिकालाई विद्यालय पठाउन थालेका छन् ।
मुसहर, डोम, चमार, हलखोरजस्ता अति पिछडिएको केहि दलित जातिमा भने अझै पनि केही बालबालिका विद्यालय जाँदैनन् । तर यि समुदायमा पहिलेको जस्तो अवस्था भने छैन् । मुसहर बालबालिका पनि अहिले विद्यालय जान थालेका छन् ।
हरिपुर नगरपालिका ७ चिताइन मुसहर बस्तीकी शिला माझीले आफूहरुको बस्तीबाट अहिले धेरै बालबालिका विद्यालय जान थालेका बताईन् । उनले आफू यसअघि विद्यालय जान नपाएपनि अहिले गाउँमा सामरी उत्थान सेवा लगायतका संघसंस्था र वडा कार्यालयले चेतना फैलाएपछि मुसहर समुदायका अभिभावकले आ–आफ्नो छोरीछोरीलाई विद्यालय पठाउन थालेका उनले बताईन् ।
हातमुख जोर्न धउधउ पर्ने केही परिवारले भने आफ्ना बालबच्चालाई सँगसँगै इँटा भट्टामा लिएर जाँदा उनीहरुले स्कुल पढन नपाएका शिलाले बताईन् । कतिपय मुसहर बालबालिकाले २÷४ कक्षा पढेपछि परिवारको आर्थिक अवस्था कमजोर रहेको र बुवाआमासँगै इँटा भट्टामा मजदुरी गर्न जानुपर्दा पढाई छोड्ने गरेको उनले बताईन् ।
शिलाले आफूलाई नपढेकोमा अहिले आएर पछुतो लाग्न थालेको सुनाईन । “अहिलेको जस्तो भए म पनि पढ्ने थिएँ, तर म सानै हुँदा मेरो अभिभावक र गाउँका मान्छेमा अहिलेको जस्तो चेतना थिएन्, ”, शिलाले भनिन, “हामी १७÷१८ वर्ष भइसकेका बस्तीका किशोर किशोरीले नपढेपनि स–साना बालबालिकाले पढन थालेका छन् । यो सबै संघसंस्थाले सचेतनामूलक कार्यक्रम गरेपछिको प्रभाव हो ।”
हरिपुर नगरपालिका ९ पिडारीकी जयकुमारी माझीले पहिले जस्तो बालबालिका विद्यालय नपठाउने प्रचलन कम भएको बताईन् । उनले पिडारी मुसहर बस्तीका ५० प्रतिसत भन्दा बढी बालबालिका पढ्न जाने गरेकोे सुनाईन् ।
जयकुमारीले अब शिक्षा बिना केही नहुने रहेछ भन्ने बुझाई दलितमा पनि पर्न थालेको बताईन् । “पढाई नै त ठूलो हो, हामीले पढ्न पाएनौँ, हाम्रा अभिभावक र हामीमा त्यो बेला चेतना भएन, अहिले हाम्रा छोरा छोरी नातिनातिनालाई पढाउन थालेका छौँ,” उनले भनिन्, “नपढेसम्म त जागिर नै पाइदो रहेनछ, त्यसैले गाउँका धेरैले अब बालबालिका पढाउन थालेका छन् तर मजदुर गरेर हातमुख जोर्नै समस्या रहेकाले बालबालिकालाई डे«स किन्न, किताब, कापी किन्न र खाजा खाने पैसा दिएर पठाउन भने समस्या छ ।”
मुसहर र अन्य पिछडिएको दलित समुदायका बालबालिकालाई पढाईका लागि सरकारले राम्रो प्रवन्ध मिलाउनुपर्र्ने उनको कथन छ । “हामी गरिब छौँ, खानलाई पनि पुगिरहेको छैन्, त्यसैले हाम्रो बालबच्चालाई पढाईका लागि सरकारले राम्रोसँग हेर्दिनु पर्छ,” उनले भनिन ।
उनले कतिपय अभिभावकले अझै पढाईको महतो नबुझेको र मुख्य अभिभावक भट्टामा जाँदा उनीहरुका छोराछोरी विद्यालय नजाने गरेको बताईन् । उनले ५ कक्षासम्म पढ्न प्राय ः बालबालिका विद्यालय जाने गरेको भएपनि त्यसपछि आर्थिक अभावले गर्दा मुसहर बालबालिका विद्यालय नजाने गरेको बताईन् ।
सर्लाहीको बसबरिया गाउँपालिका ३ भवानीपुरकी वृद्धा सन्झावती देवी माझीले आफ्नो बस्तीमा विद्यालय भएपनि धेरै मुसहर बालबालिका गाउँघरमै खेलेर बसिरहेका बताएकी छन् । “घर तथा बस्तीसँगै टाँसिएको विद्यालय छ तर यहाँ अझै पनि धेरै बालबालिका विद्यालय जाँदैनन्,” उनले भनिन, “विभिन्न संघसंस्थाले सचेतनामूलक कार्यक्रम गरेपछि केही बालबालिकालाई विद्यालय जान त थालेका छन् तर नियमित छैन् ।” उनले मुसहर समुदायमा गरिबी र भोकमरी रहेको दुःखेसो पोखिन् ।
दलित अन्तर्गत नै पर्ने पहाडिया दलित अन्तर्गतको परियार, विश्वकर्मालगायतका सबैजसो बालबालिका विद्यालय जाने गरेका छन् । ईश्वरपुर नगरपालिका १२ का दलित अगुवा मदन वि.क. आफूहरुको ठाउँमा अधिकांश दलित बालबालिका विद्यालय जाने बताउँछन् ।
उनले दलित भएपनि अधिकांश बनिबुतो र खेतिकिसान गर्ने अभिभावकका बालबालिका विद्यालय जाने गरेका बताए । उनका अनुसार आफ्नो गाउँमा सबैजसो बालबालिका गाउँको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रिपुर घारीसहित अन्य सामुदायिक र निजी विद्यालयमा पढन जाने गरेका छन् ।
वि.क.ले अहिले शिक्षामा पहुँच पुगेपछि दलित समुदायमा पनि सरकारी तथा गैर सरकारी जागिर खानेक्रम बढेको बताए । “शिक्षामा पहँुच पुगेपछि दलितबाट पनि सरकारी तथा गैरसरकारी निकायमा रोजगारी गर्नेक्रम बढेको पाउन सकिन्छ, यो सकारात्मक पक्ष पनि हो, ” वि.क. ले भने “लोकतन्त्रको उपलब्धी पछि दतिल कोटाले पनि सहयोग पु¥याएको छ, त्यसैले सबैले आ–आफ्ना बालबालिकालाई विद्यालय पढाउनुपर्छ ।”
पछिल्लो समय यहाँका विद्यालयमा शिक्षक, विभिन्न पालिकाका करार कर्मचारीलगायतमा दलितको पनि प्रतिनिधित्व बढेको पाइन्छ । सानै उमेरदेखि शिक्षा पाएका दलित बालबालिकाले यस्ता अवसर पाएका पाउन सक्छौँ । बीचमै विद्यालय छाडेका दलित बालबालिका भने इँटा भट्टा, मोटरसाइकल तथा अन्य सवारीका ग्यारेजमा काम गरेका छन् भने वैदेशिक रोजगारीमा पनि गएका छन् ।
यहाँको पूर्व–पश्चिम राजमार्गक्षेत्र तथा चुरेभेगका दलित समुदायका ९० प्रतिसत भन्दा बढी बालबालिका विद्यालयको पहुँचमा रहेका स्थानीय तहरुको आंकडाले देखाउँछ । लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष गणेशबहादुर थापा आफ्नो वडामा दलित समुदायका पनि सबैजसो बालबालिका विद्यालयको पहुँचका रहेका दावी गरे ।
वडाध्यक्ष थापाले दलित बालबालिकालाई विद्यालयमा टिकाई राख्न छात्रावृत्ति दिने गरिएको र उच्च शिक्षा अभिभावक आफैले पनि खेतीकिसान, मजदुरी गरेर सम्पन्न गराउने गरेका बताएका छन् । बरु एक छाक नखाने तर छोराछोरीलाई पढाउनुपर्छ भन्ने मान्यता रहेको वडाध्यक्ष थापाको भनाई छ । “पहिले जस्तो खुनेखाने र उच्च भनिएका समुदायका बालबालिका मात्रै विद्यालय जाने अवस्था अहिले त रहने, दलित बालबालिका पनि अरुसँगै विद्यालय गएका छन्, उनीहरुले पनि शिक्षाको महत्व बुझेर यस्तो परिवर्तन आएको हो,” वडाध्यक्ष थापाले भने, “हामीले पनि दलित बालबालिकालाई प्रोत्साहन गरेका छौँ । विद्यालयमा उनीहरुका लागि छात्रावृत्ति मिलेको छ, कुनै पनि किसिमको विभेद हुन दिएका छैन् । यो हुनु पनि हुँदैन् । अब क्रमैसँग परिवर्तन हुँदै जाने नै छ ।”
लालबन्दी १६ परवानिपुरमै बसोवास गर्ने वुधलाल परियारले छोराछोरीलाई बतिबुतो गरेर भएपनि पढाउने गरिएको बताए । उनले दलित समुदायमा अहिले निकै परिवर्तन आइसकेको सुनाए ।
बुधलालले पहिले पहिले विद्यालय जाँदा दलित बालबालिकामाथि विभेद र छिछिदुरदुर गर्ने गरेपनि अहिले त्यस्तो छैन् । अन्य समुदायका बालबालिका सरह दलित बालबालिका पनि कक्षा कोठामा सँगै बसेर पढेर आउने गरेका छन् । दलित बालबालिकाले राज्यबाट पाउने छात्रावृत्ति तथा विद्यालयहरुले प्रदान गर्ने दिवा खाजा नियमित पाइरहेका भन्दै उनले खुसी व्यक्त गरे । उनले आफ्ना बालबालिका अध्ययन गर्ने विद्यालयमा छात्रावृद्धि पाउन कुनै समस्या नरहेको र वार्षिक रुपमा विद्यालयले दलित छात्रावृत्ति दिँदै आएको सुनाए ।
परियारका अनुसार दलित समुदायमा अहिले एकादुई बाहेक सबैजसो बालबालिका विद्यालय जान्छन । बरु माध्यमिक तहको पढाई (एसइइ) सकेपछि धेरै दलित बालबालिकाले पढाई छाड्ने गरेका उनको भनाई छ ।
घरको आर्थिक अवस्था कमजोर हुने र ज्याला मजदुरी तथा रोजगारीमा जानुपर्दा एसइई दिएपछि तथा कक्षा १२ सम्म पढाई गरेपछि धेरैले पढाई छाड्ने गरेका परियारको भनाई छ । गाउँघरतिर कक्षा १२ सम्म पढाई हुने र त्यसपछि माथिल्लो कक्षा पढ्नका लागि शहर, बजारमै बस्नुपर्दा खेतीकिसान, बतिबुतो र मजदुरी गर्ने कही दलित परिवारले आफ्ना छोराछोरीलाई इच्छा हुँदा हुँदै पनि कक्षा १२ पछि पढाउन नसक्ने अवस्था रहेको परियारको कथन छ ।
बागमती नगरपालिकाको शिक्षा समितिका संयोजक रहने राजकुमार विश्वकर्माले अब समय धेरै परिवर्तन भइसकेको र दलित समुदायका बालबालिकाको शिक्षामा राम्रोसँग पहुँच पुगेको बताउँछन् । उनले आफ्नो नगरपालिकाभित्र सय प्रतिसत नै दलित बालबालिका विद्यालय आउने गरेको दावी गरे । “दलितको छोरो म आफै पनि शिक्षा समितिको संयोजक छ, हाम्रो नगरपलिकामा त १०० मा १०० प्रतिसत नै बालबालिका विद्यालय आएका छन्” ,विश्वकर्माले भने, “हामीले दलित मात्रै अन्य समुदायका बालबालिकालाई पनि सत प्रतिसत विद्यालय ल्याउने प्रयास जारी राखेका छौँ । लगभग सबै बालबालिका नै विद्यालय भर्ना भएका छन् ।”
विश्वकर्माले अहिले आर्थिक अवस्था कमजोर भएपनि दलित समुदायसहित अन्य समुदायका बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउँदा पनि पढाईको स्तर धेरै नै सुधार भइसकेको बताए । “चेतना स्तर कम रहेका र आर्थिक अवस्था कमजोर भएकाले न बालबालिकालाई विद्यालय नपठाउने हो, नत्र भने त सबैले विद्यालय पढाउन थालेका छन् ,अहिले त जनप्रतिनिधिले निगरानी गर्ने भएकाले सामुदायिक विद्यालयमा पनि राम्रो पढाई छ, ” विश्वकर्माले भने ।
यसअघि जिल्ला शिक्षा कार्यालयले हेर्ने विद्यालयहरुलाई अहिले पालिकाहरुले हेर्ने र विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय ल्याउन उनीहरुले नै काम गर्ने गर्छन् । वर्षेनि अभियान चलाउँछन् । विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालय भर्ना गराएर शिक्षादिक्षा प्रदान गर्न पहल गर्छन् । यो अभियानले पनि विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालय भर्ना गराउन र विद्यालयमा टिकाईराख्न मद्धत पुगेको देखिन्छ ।
अहिले शिक्षा शाखाहरुले विद्यालयको प्रत्यक्ष निगरानी गर्छन् । हरिपुर नगरपालिकाको शिक्षा शाखाका प्रमुख नागेश्वर राय अधिकांश दलित बालबालिका विद्यालय आउन थालेको दावी गर्छन् । “अहिले त अधिकांश दलित बालबालिका विद्यालय आएका छन् , विशेष गरी मुसहर दलितमा समस्या हो, त्यो समुदायमा पनि हामी, विभिन्न संघसंस्थाले सचेतनामूलक अभियान चलाएपछि ती समुदायका बालबालिका पनि विद्यालय आउन थालेका छन् । हाम्रो हिसाबले सत प्रतिसत नै बालबालिका विद्यालयको पहुँचमा आएको पाउँछौँ ।
गरिबी र अशिक्षाका कारण कतिपय दलित बालबालिकाले बिचमा पढाई छाड्ने गरेका रायको भनाई छ । “गरिबीले केही समस्या ल्याएको छ तर पनि अहिले त छोराछोरीलाई पढाउनै पर्छ भन्ने मान्यताले सकारात्मक परिवर्तन ल्याएको पाउन सक्छौँ,” उनले थपे । रायले हरिपुर नगपालिकाले वडा नं. १ देखि ९ सम्म वर्षेनि दलित र अन्य समुदायका बालबालिकालाई विद्यालयमा भर्ना गराउन अभियान चलाउने गरेको सुनाए । बीचमै पढाई छाड्ने समस्या पहिले जस्तो अहिले खासै छैन् । यसअघिका बालबालिकाले विद्यालय नजाने र बिचमा पढाई छाड्ने गरेपनि अहिले विस्तारै यसमा सकारात्मक परिवर्तन आउन थालेको र सामुदायिक विद्यालयहरुमा दलित बालबालिकाको पढाईप्रति आकर्षण र सहभागिता बढेको पाइएको रायले बताएका छन् ।
सर्लाहीमा २० वटा पालिका छन् । त्यसमा ११ नगरपालिका र ९ गाउँपालिका छन् । पहिले रहेको ९९ गाविस र एउटा नगरपालिकामा शिक्षाको अवस्थाबारे सबै रेखदेख गर्ने जिल्ला शिक्षा कार्यालय थियो । अहिले त्यो कार्यालय शिक्षा विकास तथा समन्वय इकाईका रुपमा रहेको छ । शिक्षा हेर्ने जिम्मेवारी स्थानीय तहलाई छ । त्यसमा पनि शिक्षा शाखाले शिक्षाको क्षेत्र हेर्छ । शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीका निमित्त प्रमुख सुनिल कुशवाहा अहिले दलित बालबालिका पनि पहिलेको तुलनामा बढी मात्रामा विद्यालय जाने गरेको बताउँछन् । कुशवाहा अहिले सिमित बालबालिकामात्रै विद्यालय बाहिर रहेका बताउँछन् । उनले दलित समुदायमा पनि अहिले शिक्षाप्रति निकै सकारात्मक सोच आएको र पहिलेको झैँ अवस्था नरहेको तर्क गर्छन् ।
दलित बस्तीलाई नै लक्षित गर्दै प्राथमिक तथा आधारभूत तहका विद्यालय खुलेका छन् । यसले पनि दलित बालबालिकालाई विद्यालय आउनका लागि सहज भएको छ । गाउँमै विद्यालय हुँदा दलित बालबालिका र उनीहरुका अभिभावकलाई सहजता भएको यस क्षेत्रका जानकारहरु बताउँछन् । कक्षा ५ सम्म अहिले स्थानीय तहले दिवा खाजाको नामबाट खाजा खुवाउँछन् । यसले पनि दलितसहित अन्य बालबालिकालाई विद्यालय टिकाउन र भर्ना गर्न ल्याउन राहत मिलेको बताइँन्छ ।
विद्यालयका प्रधानाध्यापक तथा शिक्षकले विद्यालय आउने विद्यार्थीमाथि कुनै जातिय विभेद हुन नदिएको दावी गर्छन् । लक्ष्मीनाथ आधारभूत विद्यालय चिताईनका प्रधानाध्यापक चेतनारायण धामी विद्यालयमा दलित बालबालिकालाई अझ प्रोत्साहन गरेको बताउँछन् । उनी दलित बालबालिकालाई पनि अन्य बालबालिका झैँ दिवा खाजा कार्यक्रममा सरिक गराउनुका साथै उनीहरुलाई बेलाबेलामा विभिन्न संघसंस्थाको सहयोगमा राहत सामग्री दिने, नगरपालिकाबाट छात्रावृत्ति बाँढ्ने अनि अन्य प्रोत्साहनका कार्यक्रम गर्दा उनीहरु विद्यालय आउने गरेका बताउँछन् ।
उनले कतिपय अभिभावक इँटा भट्टामा जाँदा बालबालिका पनि सँगै लिएर जाने र अन्य मजदुरीमा पठाउने गर्दा कतिपयले पढाई छाड्ने बताएका छन् । नत्र पहिले जस्तो विद्यालय नै नआउने समस्या अब धेरै हदसम्म कम भएको र शिक्षाको महत्व फैलने गएको उनले बताए । “दलित बालबालिकाले विद्यालयमा माया पाएका छन्, उनीहरु पढ्नमा पनि अन्य बालबालिका झैँ अब्बल नै देखिएका छन्, उनीहरुलाई अझ राज्यको तर्फबाट साथ र सहयोगको खाँचो छ, ”, उनले भने, “हाम्रो तर्फबाट विद्यालय भर्ना गर्न ल्याउने, दिवा खाजा दिएर विद्यालय आउन राख्न पोत्साहन गर्ने अनि बेलाबेलामा सामाजिक संघसंस्थासँग मिलेर सहयोग गर्नेक्रम चलिरहेको हुन्छ । हाम्रो तर्फबाट यो काम अझै जारी रहन्छ ।”
गरिबी र खानेकुराको अभावले गर्दा ज्याला मजदुरीमा पढाई नै छाडेर जाुनपर्ने बालबालिकालाई राज्यले उचित सम्वोधन गर्न सके सम्पूर्ण समस्या समधान हुने धामीको तर्क छ । धामी दलित बालबालिकाको पनि भविष्य उज्वल देख्छन् । उनले राम्रोसँग पढ्ने दलित बालबालिकाको लागि राज्यले विभिन्न पेशा व्यवसायमा लाग्दा कोटा समेत तोकेकाले उनीहरुलाई रोजगारीको अवसर पनि रहेको बताउँछन् । उनी दलित अभिभावकमा अझ चेता फैलाउँदै लान सके उनीहरुले बालबालिकालाई शिक्षाप्रति अझ चासो दिएर पढाउने र यसले समाजमा सकात्मक सन्देश प्रवाह गर्दै समाज विकासमा टेवा पुग्ने बताउँछन् । उनले विद्यालय छाड्ने दलित बालबालिकालाई विद्यालयमै रोक्न अभिभावकलाई चेतनशिल बनाई उनीहरुको आर्थिक अवस्था टार्न स्थानीय सरकार लाग्नुपर्ने बताए ।
दलित समुदायको पक्षमा ओकालत गर्ने अगुवाहरु अब दलित बालबालिकाको शिक्षामा पहुँच बढ्दै गएको कुरामा सहमत छन् । पूर्व शिक्षक एवं दलित अगुवा राजन बिसुङ्खे दलित बालबालिकाको शिक्षामा पहुँच पुग्नु समाज परिवर्तनको एउटा आधार भएको ठान्छन् । बिसुङ्खेले अब दलित बालबालिका पनि सक्षम छन् भन्ने उदाहरण समाजमा देखिँदै गएको बताउँछन् । “अहिले दलित बालबालिका विद्यालयका विभिन्न कक्षामा प्रथम भएका धेरै उदाहरण छन्, विद्यालय प्रथम मात्रै भएका छैनन्, रोजगारी पनि पाएका छन्,” बिसुङ्खेले भने, “अहिले हाम्रै टोल समाजमा पनि दतित युवा पढेर खरिदार, सुब्बा भएका छन्, सुरक्षा क्षेत्रमा पनि प्रवेश गरेको पाउन सक्छौँ । यसले दलित समुदायलाई माथि उठ्न र उनीहरु माथि हुने विभेद अन्त्य हुन ठूलो मद्धत पुगेको मैले ठानेको छु ।”
केही विद्यालयमा विद्यालय बाहिर रहेका दलित बालबालिकालाई विद्यालयमा भर्ना गराउन र बिचमै पढाई छाड्ने समस्या रहेका दलित बालबालिकालाई विद्यालयमा टिकाई राख्न अब स्थानीय तहले भूमिका खेल्न जरुरी छ । के–कति कारणले जति बालबालिका विद्यालय बाहिर रहेका हुन् र किन बिचमै पढाई छाड्छन भन्ने कुराको पत्ता लगाई त्यसको दिर्घकालिन समस्या समाधानका लागि स्थानीय तहले उचित हिसाबले पहल गरेको खण्डमा आगामी दिनमा सबै दलित बालबालिका विद्यालयको पहुँचमा आउने र उनीहरु बिचमा पढाई छाडेर जाने समस्या अन्त्य हुन सक्छ ।