सर्लाहीमा धार्मिक, सांस्कृतिक सद्भाव कायम गरी शान्ति, सुव्यवस्था कायम राख्न सबैले आ–आफ्नो दायित्व पुरा गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय मलङ्गवामा आज साँझ सम्पन्न जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले सामाजिक सद्भावमा खलल पुग्ने खालका गतिविधिमा संलग्न जो कोहीलाई कानून बमोजिम कारवाही गर्ने र सो कार्यमा सबैले आ–आफ्नो तर्फबाट सहयोग गर्ने र धार्मिक, सांस्कृतिक÷सामाजिक सद्भावमा खलल पुग्ने खालका समाचार सम्प्रेषण नगर्न पत्रकारसँग अनुरोध गर्ने र जिल्लास्थित सबै स्थानीय तहमा स्थानीय शान्ति तथा सामाजिक सद्भाव समिति गठन गरी क्रियाशील बनाउने निर्णय गरिएको छ । बैठकमा भएको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज साँझ नै प्रेस विज्ञप्ती जारी गर्दै सबै जातजाति, भाषा, धर्म, लिङ्ग र वर्गका नागरिकलाई संयमित भइ धार्मिक सहिष्णुता, समाजिक सद्भावलाई अक्षुण राख्दै शान्ति, सुव्यवस्था कायम राख्ने कार्यमा सहयोग पु¥याउन अनुरोधसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले हस्ताक्षर गरी जारी गर्नुभएको विज्ञप्तीमा धार्मिक सहिष्णुता एवं सामाजिक सद्भावमा खलल गर्ने खालका उच्छृङ्खल गतिविधि तथा द्वन्द्व फैलिने खालका सामग्रीहरु सामाजिक सञ्जालबाट सम्प्रेषण नगर्न अनुरोध गर्दै त्यस्ता गतिविधि गरेको पाइएमा कानूनी बमोजिम कारवाही हुने उल्लेख गर्नुभएको छ ।
प्रमुख जिल्ला अधिकारी कडरियाको अध्यक्षतामा बसेको जिल्ला शान्ति तथा सामाजिक सद्भाव समितिको बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवालगायतको उपस्थिति रहेको थियो । जनकपुर, वीरगन्जलगायत ठाउँमा भएका घटनालाई लिएर आज सदरमुकाम मलङ्गवा बजारमा बन्द तथा प्रदर्शनका कार्यक्रम भएपछि समितिको आकस्मिक बैठक बसेर यस्तो निर्णय गरिएको हो ।