पर्साका दुई विद्यालयलाई सिकाई परियोजनाले बनाई दियो ६८ लाखमा नयाँ भवन

वर्षा झा

असार १७ गते । सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा ४ का दुई ओटा विद्यालयलाई सुविधा सम्पन्न भवन निर्माण गरी हस्तान्तरण गरिएको छ ।
अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्डभिजन, वल्र्ड एजुकेशन, ह्याण्डीकाप र आरआरपिकेको साझेदारीमा सञ्चालित समावेशी शिक्षा सुदृढिकरण परियोजना(सिकाइ) अन्तरगत निर्माण गरिएको विद्यालय भवन र बालमैत्री तथा अपाङ्गतामैत्री शौचालय गाउँपालिका अध्यक्ष धिरेन्द्र राय‘विस्पत’को अध्यक्षतामा एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।
परियोजना अन्तरगत वडा नम्बर ४ स्थित श्री प्र्राथमिक विद्यालय कविलासीमा १५ लाख ४८ हजार १३२ रुपैंयाको लागतमा बालमैत्री, लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन र सोही वडा स्थित श्री प्राथमिक विद्यालय पर्सामा ५२ लाख ५३ हजार ३८७ रुपैंयाको लागतमा दुई कोठे आरसीसी भवन तथा बालमैत्री, लैङ्गिकमैत्री तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन निर्माण गरी हस्तान्तरण गरिएको राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)ले जनाएको छ ।
नवनिर्मित विद्यालय भवन तथा शौचालय हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष गणेश साह र आरआरपिकेका संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले संयुक्त रुपमा भवन तथा शौचालयको उद्घाटन गरी विद्यालयका प्रधानाध्यापकहरु क्रमशः रामेश्वर राय र राजनारायण रायलाई हस्तान्तरण गरेका थिए । भवन हस्तान्तरण गर्नु अघि सहयोगी संस्था आरआरपिकेका संरक्षण संयोजक साहले विद्यालय भवन र शौचालय निर्माणमा लागेको खर्च विवरण प्रस्तुत गरि समाजिक लेखापरिक्षण गराएका थिए । उनले विद्यालय भवन र शौचालय मर्मत सम्भार योजना समेत प्रस्तुत गरेका थिए ।
नवनिर्मित विद्यालय भवन तथा शौचालय हस्तान्तरण कार्यक्रममा पर्सा गाउँपालिकाको अध्यक्ष धिरेन्द्र राय ‘विस्पत’ , वडा अध्यक्ष गणेश साह, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षकहरु, अभिभावकहरु र आरआरपिकेका कर्मचारीहरुको उपस्थिति रहेको थियो । नवनिर्मित भवन तथा शौचालय हस्तान्तरण कार्यक्रमलार्य सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष रायले सिकाइ परियोजनाले शिक्षा क्षेत्रमा गरेको काम निकै नै प्रसंशनीय र सराहनीय रहेको बताएका थिए । उनले परियोजना मार्फत सञ्चालित रुपान्तरण कक्षालाई निरन्तरता दिन पालिकाको नीति तथा कार्यक्रम मार्फत् एक लाख पचास हजार विनयोजन गरेको जानकारी गराएका थिए ।


नवनिर्मित भवनको हस्तान्तरण कार्यक्रमको अवसरमा सहयोगी संस्थालाई विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पुर्वाधार विकास कार्यको उच्च मुल्यांकन गर्दै विद्यालयको तर्फबाट संस्था र संस्थाको सम्पूर्ण कर्मचारीहरुलाई सम्मान–पत्रसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
सिकाइ परियोजनाले जिल्लाको पर्सासहित चन्द्रनगर र ब्रहम्पुरी गाउँपालिका तथा हरिपुर्वा नगरपालिकामा समावेशी शिक्षा, बाल संरक्षण तथा अपङ्गता क्षेत्रमा विगत चार वर्ष देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Comments
Loading...