पिकअप मोटरसाइकलको ठक्करबाट सेनाका २ जवानसहित ५ घाइते

मुकेश झा

बाँके, ३० असार – ईश्वरपुर नगरपालिका–१३, बाँके चोक नजिकै रेल्वे ट्रयाक आज बिहान मोटरसाइकल र पिकअप ठोक्किएर आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।

दुर्घटनामा दुई जना नेपाली सेनाका सिपाहीसहित पाँच जना घाइते भएका हुन् । बाँके–संग्रामपुर सडकखण्डमा श्रीनगरबाट बाँके चोकतर्फ आउँदै गरेको प्रदेश ०३–०२८ प २१९१ नम्वरको मोटरसाइकल र रेल्वे ट्रयाक हुँदै बयलवासबाट बाँके खोलातर्फ जाँदै गरेको बा. ८ च ६५ नम्वरको पिकअप ठोक्किएर आगलागी भएको इलाका प्रहरी कार्यालय केशरगन्जले जानकारी दिएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही २३ वर्षीय चन्द्रदेव धामी, मोटरसाइकल पछाडि सवार मध्य पश्चिम पृतना बुटवलमा कार्यरत सिपाही २२ वर्षीय प्रशेस चौधरी र २१ वर्षीय अमित चौधरी घाइते भएका छन् । मोटरसाइकलमा सवार तीनै जना ईश्वरपुर १५ का स्थानीय हुन् । उनीहरु मध्ये मोटरसाइकल चालक चन्द्रदेव धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

पिकअपसँग मोटरसाइकल ठोक्किएपछि आगलागी हुँदा धामीको शरीको अधिकांश भाग जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए । डएसपी राईका अनुसार गम्भीर घाइते नेपाली सेनाका सिपाही धामीलाई थप उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर मगाइएको छ । नवलपुर पाँचकुमारीस्थित नेपाली सेनाको ब्यारेकमा हेलिकप्टर मगाइएको छ ।

दुर्घटनामा पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोल बस्ने ४० वर्षीय रामएकवाल महतो र पिकअपमा सवार हरिवन नगरपालिका–२, का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छ्न ।

मोटरसाइकल पछाडि सवार दुई जना, पिकअप चालक र पिकअपमा सवार व्यक्तिको अवस्था सामान्य रहेको डिएसपी राईले बताए । घाइते पाँचै जनाको मोडेल अस्पताल लालबन्दीमा उपचार चलिरहेको छ ।

घटनास्थलमा पुगेका इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक (इन्स्पेक्टर) उमाकान्त जोशीका अनुसार आगलागीमा परेर मोटरसाइकल पूर्णरुपमा जलेको छ । गाडीमा भने आगलागी नभएको प्रहरीले जनायो ।

Comments
Loading...