पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकमा आज दिउँसो टिप्परको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा सर्लाहीको मलङ्गवा नगरपालिका–३, निवासी मुस्लिम आयोगका सदस्य मोहम्मद सम्सुल हकको पिएसओको रुपमा कार्यरत बाजुराको बडीमालिका नगरपालिका–६, घर भएका प्रहरी जवान ३० वर्षीय मिनबहादुर दानीको मृत्यु भएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते भएका प्रहरी जवान दानीलाई सर्लाहीको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारका लागि एल.एस. न्यूरो अस्पताल बारा पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो । आज दिउँसो १ बजेतिर बयलवासबाट फूलजोरतर्फ आउँदै गरेका प्रहरी जवान दानी सवार बीआर ०१ एफ जे ६९६१ नम्वरको मोटरसाइकललाई रानिगन्जबाट फूलजोरतर्फ गइरहेको ना. १ क ८५२० नम्वरको टिप्परले फूलजोर चोकमा ठक्कर दिएको थियो । दुर्घटनामा संलग्न टिपर प्रहरी चौकी फूलजोर र चालक इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासको नियन्त्रणमा रहेका छन् । मृतक प्रहरी जवान दानी नेपाल प्रहरीको सशस्त्र प्रहरी गण नं. १ गुल्म नं. २ नक्साल काठमाडौंमा दरबन्दी रहेर मुस्लिम आयोगका सदस्य हकको पिएसओको रुपमा कार्यरत हुनुहुन्थ्यो । सर्लाहीमा केही दिनअघि मात्रै पूर्व पश्चिम राजमार्गस्थित बागमती नगरपालिका–१, मिलनचोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो भने पछाडि सवार व्यक्ति घाइते भएका थिए । अहिले एशियन मापदण्डमा निर्माण भइरहेको पूर्व पश्चिम राजमार्ग विस्तारको काममा माटो ओसार्न व्यापक मात्रामा टिप्परको प्रयोग भइरहेको छ । ति टिप्पर लापरवाही ढङ्गले चलाउँदा दुर्घटना बढेको स्थानीयले गुनासो गरेका छन् ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.