सर्लाही सदरमुकाम मलंगवामा आज राति अज्ञात समूहले एक जना इन्जिनियरको गोली प्रहार गरी हत्या गरेका छन् ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत सिरहाको सुखीपुर नगरपालिका ६ बैशाखा घर भई मलंगवा १० देबिटोलमा श्रीमतीसँगै डेरा गरेर बस्ने इन्जिनियर ३६ वर्षीय प्रमोदकुमार यादवको हत्या भएको हो । इन्जिनियर यादवमाथि छातिमा गोली प्रहार भएको छ ।
गोली लागेर अचेत भएका यादवलाई प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले प्रारम्भिक सूचना अनुसार इन्जिनियर यादवलाई फोन गरी डेरा बाहिर बोलाएर गोली प्रहार गरेको पाइएको बताउनुभयो ।
घटना लगत्तै मलङ्गवाको चारै दिशामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरेर गोली प्रहार गर्ने मानिसको खोजी भइरहेको सिडिओ कडरियाले जानकारी दिनुभयो । अहिले राति नेपाल–भारत सीमा क्षेत्रमा अत्यन्त कडाइ गरी ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

मृतक इन्जिनियर यादवको शव प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । इन्जिनियर यादवमाथि गोली प्रहार हुनुको कारण खुल्न नसकेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो ।
अज्ञात समूहले डेरामै आएर नजिकैबाट गोली प्रहार गरी इन्जिनियर यादवको ज्यान लिएपछि सदरमुकाम मलंगवा क्षेत्रमा त्रास उत्पन्न भएको छ ।