मूलगेट ढोका ले थिचिएर विद्यार्थीको मृत्यु, आफ्न्तद्वारा महेन्द्र राजमार्गमा चक्काजाम

लोकप्रिय समाचारदाता

असार १८ हरिवन – विद्यालयको कम्पाउण्डवालमा हालिएको मूलगेट ढोका ले थिचिएर एक विद्यार्थीको मृत्यु भएपछि आफन्त एवं स्थानीय बासिन्दाले महेन्द्र राजमार्गमा चक्काजाम गरेका छन् ।

सोमबार दिउँसो साँढे ४ बजेदेखि हरिवन नगरपालिका ९, नयाँरोड स्थित महेन्द्र राजमार्गमा टायर बालेर मृतक बालकका आफन्त एवं स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । पीडित परिवार एवं आफन्तजनलाई सम्झाई बुझाई राजमार्गको अवरोध हटाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । पीडित परिवार एवं आफन्तले विद्यालय सञ्चालकको लापरवाहीले आफ्नो बालकको मृत्यु भएको भन्दै दोषिमाथि कार्बाही तथा उचित क्षतिपूर्तीको माग राख्दै महेन्द्र राजमार्गमा चक्काजाम गरेको बुझिएको छ । हरिवनको नमूना अस्पतालमा रहेको मृतक बालकको शव समेत परिवारजनले नबुझेको तथा विद्यालयमा समेत सामान्य तोडफोड भएको स्थानीयले बताएका छन् ।

सोमबार बिहान हरिवन नगरपालिका ९ नयाँरोड स्थित ज्ञानज्योती बोर्डीङ स्कूलको कम्पाउण्ड वालको मूलगेट लढेर थिच्दा सोही स्कूलमा यू केजीमा पढ्ने आयुष बलको मृत्यु भएको छ । बागमती नगरपालिका ४ जिरायत निवासी आकाश बलका छोरा ५ वर्षीय आयुषको फलामको गेटले थिच्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । गेटले थिच्दा सोही स्कूलको २ कक्षामा पढ्ने ७ वर्षीय आदित्य लो घाईते भएका छन् । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

समाचार सम्भार-उज्यालो अभियान

Comments
Loading...