विद्यालय भवन उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज सर्लाहीको बलरा आउँदै

लोकप्रिय समाचारदाता

बलरा, २२ बैशाख – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सर्लाहीको दक्षिण–पश्चिम ग्रामीण भेगस्थित बलरा आउँदै छन् ।

उनी बलरा नगरपालिका–८, गडहीया डुमरियामा रहेको जनता नमूना माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गर्न यहाँ आउन लागेका हुन् । प्रधानमन्त्री प्रचण्ड मध्यान्ह हेलिकप्टरमार्फत गडहीया आइपुग्ने कार्यक्रम रहेको सो विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं संविधान सभा सदस्य शिवपुजन राय यादवले जानकारी दिए । उनका अनुसार विद्यालयको १२ कोठे नवनिर्मित भवन आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने छन् ।

विद्यालय अगाडितर्फको चौरमा भवन उद्घाटन समारोह र पछाछिपट्टी रहेको चौरमा हेलिकप्टर ल्याण्ड गर्न हेलिप्याड निर्माण गरेर कार्यक्रमलाई भव्य बनाउने तयारी गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित एक कार्यक्रममा सरिक भएर प्रधानमन्त्री प्रचण्ड गहडीया आइपुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

गहहीया माविको नवनिर्मित भवन उद्घाटनपश्चात प्रधानमन्त्री प्रचण्डले सोही विद्यालयको प्राङ्गणमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्ने कार्यक्रम तय गरिएको छ । सो कार्यक्रममा अन्य पार्टीबाट ठूलो सङ्ख्यामा नेता कार्यकर्तालाई माओवादीमा प्रवेश गराउने तयारी रहेको संविधान सभा सदस्य यादवले बताए ।

प्रधानमन्त्री प्रचण्डको आगमनलाई लक्षित गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

Comments
Loading...