सर्लाहीका पत्रकारले प्रमुख जिल्ला अधिकारीलाई बुझाए ज्ञापन पत्र

मुकेश झा

मलंगवा, १८ चैत – पत्रकारको हत्या, संचारगृह र संचारकर्मीमाथि भएको आक्रमणको विरोधमा सर्लाहीका पत्रकारले सोमबार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाको अगुवाईमा जिल्लाका पत्रकारले जिल्ला प्रशासन कार्यालय मलङ्गवा पुगेर प्रमुख जिल्ला अधिकारी (सिडिओ) तुलसीबहादुर श्रेष्ठमार्फत सरकारलाई ज्ञापन–पत्र बुझाएका हुन् । देशव्यापी आन्दोलनको कार्यक्रम अन्तर्गत सर्लाहीमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाइएको नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले जानकारी दिए ।
शुक्रबार काठमाडौंको तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको हत्याबारे गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियानमा कारवाही गर्न तथा उनको परिवारलाई राहत प्रदान गर्न, संचारमाध्यम र संचारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानूनी कठघरामा ल्याउन तथा क्षति पुर्याइएका संचारगृह र संचारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले माग गरेको छ ।
यस्तै विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हननका घटनाहरुमा संलग्नलाई तत्काल कानूनी कारवाही गर्न र भविष्यमा संचारमाध्यम र संचारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन पनि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारसँग नेपाल पत्रकार महासंघले माग गरेको छ ।
महासंघले एक साताभित्र माग सम्वोधन हुने विश्वासनीय आधार निर्माण गर्न माग गरेको छ । शुक्रबारको घटनापछि नेपाल पत्रकार महासंघले तय गरेको आन्दोलनको कार्यक्रमअन्तर्गत सर्लाहीका पत्रकारले शुक्रबार सदरमुकाम मलंगवामा विरोध र्याली र शनिबार आ–आफ्नो कार्यकक्षमा कालोपट्टी बाँधेर काम गरेका थिए ।

Comments
Loading...