सर्लाहीमा आज लखन्देही खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ । खोलाले बगाएर कविलासी नगरपालिका–१, का ७० वर्षीय मोहम्मद जमिरको मृत्यु भएको हो । जमिरलाई लखन्देही खोला पारी खेतमा काम गर्न जाँदा बरहथवा नगरपालिका–१६ बाट आज बिहान लखन्देही खोलाले बगाएको थियो । परिवारले उहाँ बेपत्ता भएको जानकारी दिएपछि खोजी गर्नेक्रममा आज दिउँसो बरहथवा नगरपालिका–१७, स्थित बरहथवा नगरपालिका र चक्रघट्टा गाउँपालिकाको सीमामा पर्ने खोला किनारमा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक निरन्जन भट्टराईले जानकारी दिनुभयो । डिएसपी भट्टराईका अनुसार मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाउने तयारी भइरहेको छ । गएराति सर्लाहीको चुरेभेगमा भारी वर्षा हुँदा लखन्देही खोलामा आज बिहानैदेखि ठुलो बाढी आएको थियो । सर्लाहीमा हिजो बेलुका मात्रै बलरा नगरपालिकामा पुरानो मनुष्मारा खोलामा डुबेर एक जनाको मृत्यु भएको थियो । सीमावर्ती बलरा नगरपालिका–६, मिर्जापुरमा घाँस काटेर घर फर्किदै गर्दा खोला तर्नेक्रममा चिप्लिएर जलकुम्भीमा टाउको फस्दा स्थानीय बिकाउ बैठाकी छोरी १६ वर्षीया रङ्गिला बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Sign in / Join
Sign in
Recover your password.
A password will be e-mailed to you.
Comments