सर्लाही, ३ पुस । राष्ट्रिय मुक्ति पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतो केही दिनदेखि लगातार आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर २ मा पार्टी संगठन सुदृढीकरणका लागि सक्रिय रहनुभएको छ । अध्यक्ष महतो कार्यकर्ता तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको नीति, उद्देश्य र भावी कार्यदिशाबारे छलफल गरिरहनुभएको छ ।

बिहीबार अध्यक्ष महतोले हरिपुर्वा नगरपालिकामा आयोजित भेटघाट कार्यक्रममा सहभागी भई स्थानीय कार्यकर्ता तथा जनतासँग अन्तरक्रिया गर्नुभएको थियो । त्यसअघि बुधबार उहाँले ब्रह्मपुरी गाउँपालिकाका सबै वडाका कार्यकर्ता तथा स्थानीय नागरिकसँग भेट गरी संगठन विस्तार र जनसम्पर्कलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको थियो

यसै क्रममा अध्यक्ष महतोले कौडेना गाउँपालिका र मलङ्गवा नगरपालिकामा पनि पार्टीका नेता–कार्यकर्तासँग भेट गरी संगठन विस्तारमा सक्रिय रहन निर्देशन दिनुभएको थियो । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी सर्लाहीमा पार्टी संगठनलाई मजबुत बनाउने उद्देश्यका साथ अध्यक्ष महतो निरन्तर जिल्लामा खटिइरहनुभएको जिल्ला अध्यक्ष गणेश यादवले जानकारी दिनुभयो ।
नेता महतोले आगामी निर्वाचनमा पार्टीलाई बलियो रूपमा प्रस्तुत गर्न कार्यकर्ता–जनताको एकता, सक्रियता र निरन्तर मेहनत आवश्यक रहेको उल्लेख गर्दै संगठन विस्तारलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न आग्रह गर्नुभएको छ ।