हरिपूर्वा, ०५ असार – सर्लाहीको हरिपूर्वामा आजबाट ७ दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ ।
हरिपूर्वा नगरपालिकाको सहयोगमा लोकप्रिय आवाज हरिपूर्वाले तालिम आयोजना गरेको हो । तालिमको आज बिहान हरिपूर्वा नगरपालिकाकी उपमेयर सुमित्रादेवी ग्वारिनले उद्घाटन गरिन् । तालिमको उद्घाटन समारोहमा हरिपूर्वा नगरपालिका २ का वडाध्यक्ष दिनेश राय, नगरपालिकाका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत कुमार परियार, महिला तथा बालबालिका शाखाकी धनकुमारी खड्कालगायतको आतिथ्यता रहेको थियो ।
असार ११ गतेसम्म संचालन हुने तालिममा स्थानीय २५ जना युवा युवतीलाई सहभागी गराइएको आयोजक लोकप्रिय आवाजका प्रकाशक मुकेश झाले जानकारी दिए । युवा पुस्तालाई पत्रकारिताबारे प्रष्ट पार्ने र भविष्यमा पत्रकारिता गर्न इच्छुकलाई आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले तालिम आयोजना गरिएको झाले बताए ।