ब्रह्मपुरी, १० चैत – सर्लाहीको ब्रह्मपुरीमा शनिबार एक हजार २०० पशुको निःशुल्क उपचार गरिएको छ ।
गाउँपालिका कार्यालय र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मलङ्गवासँग समन्वय गरी ग्रामीणमुखी युवा अभियान नेपाल नामक संस्थाले ए.ई.आई.एन. को आर्थिक सहयोगमा ब्रह्मपुरी गाउँपालिका–१, ब्रह्मस्थानमा आयोजना गरेको निःशुल्क एक दिने पशु स्वास्थ्य शिविरमा एक हजार एक सय बाख्रा, एक सय भैँसी, पाँचवटा गाई र दुुईवटा गोरुको उपचार गरिएको हो । शिविरमा उपचारका लागि ब्रह्मपुरी गाउँपालिका १ र २ का किसानले ल्याएका अधिकांश पशुमा रुघाखोकी, ज्वरो, किरा लागेको, खानामा अरुचीजस्ता समस्या देखिएको र समस्या अनुसार पशुुचौपायलाई औषधि समेत वितरण गरिएको पशु विकास अधिकृत श्याम यादवले बताए ।
शिविरमा उपचारका लागि ल्याइएका पशुको प्रदेश, जिल्ला तथा पालिकाबाट खटिएका पशु प्राविधिक एवं चिकित्सकबाट उपचार गरिएको छ ।
गाउँपालिका अध्यक्ष रामपदारथ साह तेलीको अध्यक्षता तथा मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालको प्रमुख आतिथ्यतामा निःशुल्क एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न गरिएको ग्रामीणमुखी युवा अभियान नेपालका जिल्ला कार्यक्रम संयोजक अरविन्दकुमार चौधरीले जानकारी दिए ।