हरिपूर्वा, ३० बैशाख – प्रमुख प्रशासकीय अधिकृत टिक्दै नटिक्ने समस्या रहेको सर्लाहीको हरिपूर्वा नगरपालिकामा फेरि नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।
उपसचिव सिकिन्द्र प्रसाद साह हरिपूर्वाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा आज हाजिर भएका हुन् । संघीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले बैशाख २० गते ४८ जना उपसचिवको सरुवा निकाल्दा मन्त्रालयमै कार्यरत साहलाई हरिपूर्वामा खटाएको थियो । सो सरुवा अनुसार आज कार्यालयमा हाजिर हुन आएका उपसचिव साहलाई मेयर विनोदकुमार साह तेलीसहितका जनप्रतिनिधि र कर्मचारी भएर स्वागत गरेका छन् ।
राजनीतिक भूमरीमा फसेको हरिपूर्वा नगरपालिकामा मेयर विनोदकुमार साह तेलीले लामो प्रयासपछि निकै ढिलो गरी फागुन ७ गते नगर सभा गरेर बजेट ल्याएका थिए । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत शम्भुप्रसाद यादवले उक्त नगरसभापछि कर्मचारीलाई रोकिएको तलब भत्ता र ज्येष्ठ नागरिकलगायतको सामाजिक सुरक्षा भत्ता खुवाए । तर, योजना भने अझै संचालन हुन सकेको छैन् ।
अब नयाँ उपसचिव सरुवा भएर आएसँगै नयाँ योजना संचालन भएर विकास निर्माणका काम अघि बढ्ने अपेक्षा गरिएको छ ।
जनप्रतिनिधि र राजनीतिक दलका नेताको आरोप–प्रत्यारोपका कारण हरिपूर्वा नगरपालिकामा अघिल्लो पटकका जनप्रतिनिधिको कार्यकालदेखि नै राम्रोसँग संचालन हुन सकेको छ्रैन् ।