ट्रकले किचेर दिदीको मृत्यु, बहिनी घाइते

मुकेश झा

सर्लाहीको हरिपूर्वा नगरपालिका–९, मिर्चैयामा आज बिहान ट्रकले किचेर दिदीको मृत्यु भएको छ । दुर्घटनामा मृतककी बहिनी घाइते भएकी छन् । बाँके–सङ्ग्रामपुर सडकअन्तर्गत श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्वरको ट्रकले किच्दा साइकल हाकिरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगर बस्ने रामदुलार महतोकी छोरी १७ वर्षीया अन्जलीकुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो । ट्रकले किचेर साइकल पछाडि चढेकी अन्जलीकी बहिनी १५ वर्षीया पूजाकुमारी महतो घाइते भएकी छन् । उनको श्रीनगरस्थित एक निजी क्लिनिकमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । मृतक अन्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाइएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र त्यसका चालक इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा रहेका छन् । स्थानीयका अनुसार रामदुलार महतोको हरिपूर्वा र श्रीनगर गरी दुुई ठाउँमा घर रहेको छ । हरिपूर्वामा रहेको घरबाट आज बिहानै श्रीनगरस्थित घरतर्फ साइकलमा आउँदै गर्दा रामदुलारका दुई छोरीलाई ट्रकले किचेको स्थानीयले बताएका छन् । दुर्घटना लगत्तै स्थानीय वासिन्दाबाट प्रदर्शन हुन सक्ने आँकलन गरी ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । स्थानीय वासिन्दाले घटनास्थलमा कुनै समस्या नगरेका र दुर्घटनाका सम्वन्धमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Comments
Loading...