असार ०९ हरिपुर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकाले सोमबार १५ औँ बजेट अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
केश्वर गरिब जनता माविको प्राङ्गणमा आयोजित नगर सभामा ६२ करोड १३ लाख ५३ हजार २३५ रुपैयाँ बराबरको अनुमानित बजेटसहितको नीति, कार्यक्रम प्रस्तुत गरिएको हो । मेयर विनोदकुमार साह तेलीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित नगर सभामा उपमेयर सुमित्रादेवी ग्वारिन, प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का, सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द, राष्ट्रिय अनुसन्धान विभागका एसपी सन्जय मण्डललगायतको आतिथ्यता रहेको थियो ।