लालबन्दीमा टिप्परको ठक्करबाट विद्यार्थीको मृत्यु, स्थानीयद्वारा टिप्परमा आगजनी

मुकेश झा

असार १२ सर्लाही । लालबन्दी जब्दी भित्र सडकखण्डको लालबन्दी नगरपालिका–५, मेजरगन्जमा राति टिप्परको ठक्करबाट एक युवकको ज्यान गएको छ ।
जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना. २ ख ५०१ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलमा रहेका कबिलासी नगरपालिका–८, अगर्वा घर भइ चार पाँच वर्षदेखि लालबन्दी–५, मेजरगन्जमा पनि घर बनाएर बस्दै आएका दिनेश साहका छोरा २० वर्षीय सचिन साहको घटनास्थलमै ज्यान गएको हो । ओभर स्पिडले गर्दा टिप्परले सचिनलाई ठक्कर दिएर ज्यान लिएको भन्दै आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरिदिएका छन् ।
सचिनलाई लालबन्दी बजारबाट पसलका लागि सरसामग्री किनेर साइकलमा घरतर्फ लैजाँदै गर्दा मेजरगन्जस्थित चक्रेश्वर महादेव मन्दिर नजिक टिप्परले ठक्कर दिएको हो । सचिन जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा पढ्दै थिए ।
मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । टिप्पर चालक अहिले बिहानसम्म पनि फरार नै रहेकाले खोजी जारी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीले बताएका छन् ।
स्थानीयले आगजनी गरेर क्षति पुगेको टिप्पर मध्य रातिमा लालबन्दी प्रहरी कार्यालयमा लगेर राखिएको छ । टिप्पर दुर्घटना र त्यसपछि स्थानीयले गरेको आगजनीका कारण राति केही घण्टा तनावग्रस्त बन्यो ।
जिल्लाभरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो भने स्थानीयको पनि असाध्य भीड लागेको थियो । अहिले बिहान भने घटनास्थलको अवस्था सामान्य नै रहेको लालबन्दी ५ का वडाध्यक्ष मिनप्रसाद ढुंगेल (रामु) ले बताएका छन् ।

Comments
Loading...