भारतीय नागरिकलाई नागरिकता दिलाउने पर्सा गाउपालिकाको वडाध्यक्ष पक्राउ

मुकेश झा

नागरिकता सम्वन्धी कसुरमा प्रहरीले सर्लाहीको सीमावर्ती पर्सा गाउँपालिकाका एक जना वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ । चार जना व्यक्तिलाई झुठो वतन तथा झुठो विवरण पेश गरी नागरिकता प्राप्त गर्न सिफारिस गरेको आरोपमा पर्सा गाउँपालिका–४, का वडाध्यक्ष सुवोध राय यादव पक्राउ परेका हुन् । वडाध्यक्ष यादवको सिफारिसको आधारमा केही शङ्कास्पद व्यक्तिले नेपाली नागरिकताको प्रमाण–पत्र लिइसकेको र केहीले लिन खोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले जानकारी दिनुभयो । स्रोतका अनुसार वडाध्यक्ष यादवले भारतीय नागरिकलाई नागरिकता दिलाउने कार्यमा सिफारिस गरेको खुलेको छ । प्रहरीले भने यस सम्वन्धमा थप अनुसन्धान भइरहेको बताएको छ । वडाध्यक्ष यादवविरुद्ध नागरिकता सम्वन्धी कसुरमा मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट १५ दिनको म्याद लिई अनुसन्धान भइरहेको डिएसपी राईले बताउनुभयो । ४६ वर्षीय यादव गत स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । सर्लाहीसहित तराई मधेशका जिल्लामा जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा केही भारतीय नागरिकले नागरिकता प्राप्त गर्ने गरेका गुनासो बारम्बार आउने गरेको छ ।

Comments
Loading...