मलंगवा, १३ असोज – नेपाल पत्रकार महासंघ सर्लाही शाखाले नेपालीहरूको महान् चाड विजया दशमी, शुभ दिपावली तथा पवित्र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान सहित ‘बदलिँदो अवस्थामा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही अध्यक्ष ओम प्रकाश ठाकुरको अध्यक्षता एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, सशस्त्र प्रहरी उपरीक्षक देव बहादुर चन्द, नेपाल प्रहरीका नायव उपरीक्षक सरोज राई लगायतको विशिष्ट आतिथ्यता रहेको थियो । आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय मलंगवाको सभाहलमा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष उग्रकान्त झा, महासचिव शिवचन्द्र चौधरी सहित जिल्लास्थित संचारकर्मीहरुले बदलिँदो अवस्थामा पत्रकारिता क्षेत्रले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा आफ्ना धारणा राखेका थिए ।
नेपाल पत्रकार महासंघ सर्लाहीका सचिब सोम दियालीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष मुकेश झाले स्वागत मन्तव्य राखेका थिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा सुरक्षा लगायत यावत चुनौतीहरु बढ्दै गएको र समाजमा फैलदै गएको भ्रम चिर्ने गरी हरेक संचारकर्मी जिम्मेवार भएर प्रस्तुत हुनुपर्नेमा अधिकांश वक्ताहरुको जोड थियो । पत्रकारिता क्षेत्र जिम्मेवार नभएसम्म मुलुकमा जुनसुकै व्यवस्था परिवर्तन भएपनि सुशासनको अवस्था भने कहिल्यै नबदलिने वक्ताहरुले धारणा राखेका छन् । सम्भार – उज्यालो अभियान