विद्यालयमा क्रिसमस नमनाउन हिन्दु सम्राट नेपालको चेतावनी
लोकप्रिय समाचारदाता
सर्लाही, ९ पुस । हिन्दु सम्राट नेपालले डिसेम्बर २५ (क्रिसमस डे) का दिन निजी विद्यालयहरूमा इसाई धर्मसँग सम्बन्धित कुनै पनि कार्यक्रम नगर्न तथा विद्यार्थीहरूलाई सेन्टाक्लसको पोसाक लगाउन बाध्य नपार्न कडा चेतावनी दिएको छ।
संगठनले निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन), एन–प्याब्सन, सगरमाथा स्कुल, सेन्ट ग्याब्रियल स्कुललगायत शिक्षण संस्थाहरूलाई औपचारिक ज्ञापनपत्र बुझाउँदै यस्तो आग्रह गरेको हो। हिन्दु सम्राट नेपालका महासचिव राकेश यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विद्यालयहरूलाई शैक्षिक तटस्थता कायम राख्न अनुरोध गरिएको छ।
ज्ञापनपत्रमा विद्यालय परिसरभित्र कुनै पनि विदेशी धर्मको प्रचार, प्रतीकात्मक गतिविधि तथा धार्मिक कार्यक्रम तुरुन्त रोक्नुपर्ने माग गरिएको छ। क्रिसमस मनाउने नाममा साना विद्यार्थीहरूको मनोविज्ञानमा अन्य धर्मप्रति आकर्षण जगाउने प्रयास भइरहेको दाबी गर्दै संगठनले यसलाई सांस्कृतिक हस्तक्षेपको रूपमा व्याख्या गरेको छ।
संगठनले वैकल्पिक रूपमा डिसेम्बर २५ कै दिन हिन्दु परम्पराअनुसार पर्यावरण, स्वास्थ्य र संस्कारसँग जोडिएको ‘तुलसी पूजन दिवस’ मनाउन विद्यालयहरूलाई आग्रह गरेको छ। यसले विद्यार्थीहरूलाई मौलिक धर्म–संस्कृतिप्रति सचेत गराउने विश्वास व्यक्त गरिएको छ।
ज्ञापनपत्रमा विद्यालयलाई ‘शिक्षाको मन्दिर’ को संज्ञा दिँदै, “मन्दिरलाई चर्चमा परिवर्तन नगर्नुहोला” भनिएको छ। निर्देशनको अवज्ञा भएमा मौलिक धर्म, संस्कृति र सामाजिक सद्भावको संरक्षणका लागि आवश्यक कानुनी तथा संगठनात्मक कारबाही अघि बढाइने चेतावनीसमेत दिइएको छ।
हिन्दु सम्राट नेपालले विद्यालयहरू राष्ट्रिय पाठ्यक्रम, संस्कार–आधारित शिक्षा र नेपाली मौलिकतामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै, यस्ता गतिविधिले अभिभावकको विश्वास र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने दाबी गरेको छ। संगठनको यस कदमले सर्लाहीसहित स्थानीय स्तरमा बहस सुरु भएको छ।