सर्लाही क्षेत्र नम्बर २ मा रोचक भिडन्त

मुकेश झा

सर्लाही, १४ माघ । सर्लाही क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधि सभाको निर्वाचनलाई लिएर राजनीतिक सरगर्मी तीव्र बन्दै गएको छ । यस क्षेत्रलाई मधेशको राजनीतिक रूपमा संवेदनशील र निर्णायक क्षेत्रका रूपमा हेरिँदै आएको छ, जहाँ यसपटक अनुभवी र नयाँ अनुहारबीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । स्थानीय मतदाताको चासो र राजनीतिक दलहरूको सक्रियताले चुनावी माहोल थप तातिएको छ ।


यस क्षेत्रबाट पटक–पटक निर्वाचित हुँदै आएका महिन्द्र राय यादव र मधेश मुद्दालाई लिएर राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका राजेन्द्र महतोबीच मुख्य भिडन्त हुने आँकलन गरिएको छ । अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा महिन्द्र राय यादवसँग झिनो मतान्तरले पराजित भएका महतो यसपटक बलियो उम्मेदवारका रूपमा प्रस्तुत भएका छन् । स्थानीय स्तरमा मधेशी अधिकार, पहिचान र विकासका विषयलाई निरन्तर उठाउँदै आएको कारण उहाँप्रति मतदाताको ध्यान केन्द्रित रहेको बताइन्छ ।
नेपाली काँग्रेसबाट डा. सरोज कुमार यादव पनि बलियो उम्मेदवारका रूपमा हेरिएका छन् ।

राजनीतिक रूपमा नयाँ अनुहार देखिए पनि उहाँको पारिवारिक पृष्ठभूमि र संगठनसँगको सम्बन्ध पुरानै रहेको छ । डा. यादव पूर्वमन्त्री नागेन्द्र रायका छोरा हुन् । सर्लाही क्षेत्र नम्बर २ मा काँग्रेसको संगठनात्मक स्थिति बलियो मानिएकाले डा. यादवको उम्मेदवारीलाई पनि प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ । यस क्षेत्रमा रहेका अधिकांश स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सांसद काँग्रेसकै रहेका कारण पार्टी संरचनाले उहाँलाई लाभ पुग्ने विश्लेषकहरूको भनाइ छ ।
तर पछिल्लो समय चर्चामा रहेको ‘नेपो बेबी’ अर्थात् नेताका छोरा–छोरीले पाउने अवसरको बहसले डा. यादवलाई पनि छोएको देखिन्छ । टिकट पाउनुमा पारिवारिक पृष्ठभूमिको प्रभाव रहेको भन्ने चर्चा जनस्तरमा उठिरहेको छ ।
यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन महतो उम्मेदवार बनेका छन् । सर्लाहीमा तुलनात्मक रूपमा कम परिचित भए पनि राष्ट्रिय स्तरमा पार्टीको लोकप्रियता र युवा मतदातामाझ बढ्दो आकर्षणका कारण उहाँले उल्लेख्य मत ल्याउने अनुमान गरिएको छ । तर जितसम्म पुग्न कठिन हुने विश्लेषकहरूको भनाइ छ ।
त्यस्तै, ‘नेपालीको लागि नेपाली पार्टी’ का उम्मेदवार कृष्ण यादव पनि चुनावी प्रतिस्पर्धामा छन् । हिन्दुत्वको मुद्दालाई प्रमुख एजेन्डा बनाउँदै मैदानमा उत्रिएका यादवले केही क्षेत्र र समुदायमा राम्रो पकड बनाएको बताइन्छ ।
समग्रमा, सर्लाही क्षेत्र नम्बर २ मा अनुभवी नेता, नयाँ अनुहार र वैचारिक एजेन्डा बोकेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ । मतदाताले विकास, पहिचान र सुशासनमध्ये कुन मुद्दालाई प्राथमिकता दिन्छन् भन्ने कुराले यस क्षेत्रको नतिजा तय गर्ने विश्लेषकहरूको निष्कर्ष छ ।

Comments
Loading...