घाइतेको मृत्यू पछि तनावपूर्ण रहेको बर्दिवासमा निषेधाज्ञा जारी

लोकप्रिय अबाज डेस्क ( १० मसिंर २०७७ )

६ वर्षीया बालिकाको हत्याको विषयलाई लिएर तनावपूर्ण रहेको महोत्तरीको बर्दिवासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । मंगलबार भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका स्थानीयको उपचारका क्रममा मृत्यु भएपछि पुनः तनाव बढ्ने भन्दै स्थानीय प्रशासनले बर्दिवास नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले बुधबार बिहान ९ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि बर्दिवासमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए । बर्दिवास नगरपालिकाको पूर्वमा वडा नम्बर १ को रातो खोला, पश्चिममा वडा नम्बर ५ को माइस्थान, उत्तरमा वडा नम्बर ३ को गौरीवास पाटु र दक्षिणमा वडा नम्बर ८ को हात्तीलेट क्वार्टर चौकीसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो ।
निषेधाज्ञाका बीच पनि पूर्व–पश्चिम राजमार्ग भने शुचारु रहने छ । मानिसहरुले घरबाहिर निस्किन पूर्ण रुपमा रोक नलगाइए पनि ५ जनाभन्दा बढी व्यक्ति भेला तथा जम्मा हुन पाउने छैनन् । आइतबार साँझदेखि हराइरहेकी बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी ६ वर्षीया छोरी गुलाव शाह खातुनको सोमबार मध्यराति शव फेला परेको थियो । आइतबार साँझदेखि हराएकी गुलावको प्रहरी र स्थानीयले खोजी व्यापक बनाएका थिए । सोमबार दिउँसोसम्म खोजी गर्दा पनि गुलावबारे केही जानकारी मिलेको थिएन ।
पछि, बर्दिबासमा किराना पसल गर्दै आएका गौशाला नगरपालिका–५ घर भएका अरुण कुमार साहले बालिकाको हत्या आफूले गरेको भन्दै हिँडेको भन्ने सूचना प्रहरीले प्राप्त गरेको थियो ।सोमबार राति रक्सी पिएर आफ्ना घर गएका साहले परिवारका सदस्यलाई बालिकाको हत्या आफूले गरेको बताउनु भएको थियो । । त्यसपछि प्रहरीले उनलाई सोमबार राति नै पक्राउ गरेको थियो ।
साहलाई नै लिएर खोजी गर्ने क्रममा उहाँले भनेकै स्थानमा प्रहरीले बालिकाको शव फेला परेको थियो । गुलावको शव बर्दिबास नगरपालिका–१४ शुभम् वस्तीस्थित सामुदायिक परिवार कल्याण संघको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडि विनोद साहको खाली जमिनमा फेला परेको थियो ।

Comments
Loading...