फाइनल परिक्षा नजिकदै गरेको बेला हरिपुर्वाको शिक्षकद्वारा अनिश्चितकालीन बन्दको घोषणा

लोकप्रिय समाचारदाता

फागुन ०४ हरिपुर्वा । सर्लाहीको हरिपूर्वा नगरपालिकामा पर्सी आइतबारदेखि सामुदायिक विद्यालयहरु पनि बन्द हुने भएको छ । गएको साउनदेखि तलब, भत्ता नपाएपछि यहाँ कर्मचारीहरु नगरपालिका, वडा कार्यालय, स्वास्थ्य चौकी बन्द गरेर गत आइतबारदेखि नै धर्नामा छन् । अब पर्सी आइतबारबाट शिक्षक पनि थपिने भएका हुन् । आज केश्वर गरिब जनता माध्यमिक विद्यालय हरिपूर्वाका प्रधानाध्यापक सन्जय कुमार यादवको अध्यक्षतामा बसेको नगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुको बैठकले आइतबारबाट विद्यालय बन्द गरेर नगरपालिकामा जारी कर्मचारीको धर्नामा मिसिने निर्णय गरेको हो । शिक्षकहरु यसअघि पनि दुई सातासम्म विद्यालय बन्द गरेर नगरपालिका कार्यालयमा आएर धर्ना बसेका थिए । त्यसबेला मेयर विनोदकुमार साह तेलीले तत्काल नगर सभा गरी तलब, भत्ता निकासाको लागि पहल गर्ने वचन दिएर धर्ना स्थगित गराई विद्यालय खुलाउनुभएको थियो । तर, ७ महिना बितिसक्दा पनि तलब पाउने छाँटकाँट नदेखिएपछि शिक्षकहरु बाध्य भई फेरि विद्यालय बन्द गरेर धर्नामा बस्ने भएका हुन् । राजनीतिक स्वार्थका कारण नगर सभा हुन नसकेर बजेट पारित हुन नसक्दा हरिपूर्वाका स्थानीयसँगै विद्यार्थी मारमा परेका छन् । यहाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाउन सकेको छैन् भने पठाएकालाई पनि टिक्न दिइएको छैन् । मेयर तेलीले यसै क्षेत्रका सांसद तथा अहिलेको संघीय सरकारका खानेपानी मन्त्री महिन्द्र राय यादवले आफूले तीन पटकसम्म ल्याएको प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) शम्भुप्रसाद यादवलाई टिक्नै नदिएको र अर्को कोही प्रमुख प्रशासकीय अधिकृतलाई यहाँ पठाउन नदिएको आरोप लगाउँदै आउनुभएको छ । तर, नगर कार्यपालिकामै पनि मेयर तेलीसँग उपमेयरसहित अन्य सदस्य असन्तुष्ट रहेका छन् । नगर सभा गर्न नसकेको हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिका झनझन राजनीतिक दलदलमा फस्दै गएका छन् । यि दुई पालिकामा सभा गरेर बजेट ल्याउन नसक्दा विकास निर्माणका काम केही हुन पाएका छैनन् भने कर्मचारी र शिक्षकको तलब तथा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता गएको साउनदेखि कै वितरण हुन सकेको छैन् ।

समाचार सम्भार – उज्यालो अभियान

Comments
Loading...