वल्र्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट प्रालि को हरिपुर्वा शाखा उद्घाटन

लोकप्रिय अवाज समाचारदाता

हरिपुर्वा १९ फाल्गुन । शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा लगानी गर्दै आईरहेको वल्र्ड एजुकेसन एण्ड हेल्थ डेभलपमेन्ट प्रालिले हरिपूर्वा नगरपालिकामा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
जिल्लाको लालबन्दीबाट सेवा प्रदान गर्दै आईरहेको प्रालिले आज वृहद पूजापाठसहित हरिपूर्वा नगरपालिकाको वडा नम्बर ५ स्थित जयनारायण सरको घरमा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । कार्यालयको हरिपूर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले रिवन काटेर उद्घाटन गरेका छन् ।

मधेश प्रदेशका विभिन्न जिल्लामा शिक्षा र स्वास्थ्यमा सुधार गर्ने उदेश्यका साथ स्थापना भएको सो वल्र्ड एजुकेशन एण्ड हेल्थ डेभलपमेन्ट प्रालिले पैसाकै अभावमा कसैले पनि शिक्षा आर्जन गर्नबाट बञ्चित हुन नपरोस भनेर आफूहरुले शिक्षा र स्वास्थ्यको क्षेत्रमा लगानी गरेको सो संस्थाका हेड अफिसर देवेन्द्र रायले बताए । उनले अब कोही पनि बालबालिका शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण कुराबाट बञ्चित हुनु नपर्ने बताए । उनले आफूहरुले शिक्षा र स्वास्थ्यमा मात्रै लगानी गर्ने भएकोले अन्य शिर्षकमा पनि ऋण पाइन्छ भन्ने नसोच्न पनि अभिभावकहरुलाई आग्रह गरे ।

उनका अनुसार अभिभावकले आफूहरुसँग जोडिनका लागि संस्थामा खाता खोल्नुपर्छ । त्यसपछि उच्च शिक्षा हासिल गर्नका लागि संस्थाले आवश्यक रकम ऋण स्वरुप उपलब्ध गराउँछ ।
कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै हरिपूर्वा नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष रमेश कुमार रायले हरिपुर्वामा वल्र्ड एजुकेशन एण्ड हेल्थ डेभलपमेन्ट प्रालिले आफ्नो शाखा विस्तार गरेकोमा आफूलाई धेरै खुशि लागेको बताए । उनले नगरको शिक्षा क्षेत्रमा सुधार गर्न यस्तै खालका संघसंस्थाको सहयोग आवश्यक हुने भन्दै नगरपालिकाले यस्ता संस्थाहरुलाई सदैव स्वागत गर्ने बताए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथी हरिपुर्वा नगरपालिकाका मेयर विनोद कुमार साहले पनि सो संस्थाले आफ्नो नगरपालिकामा शाखा विस्तार गरेकोमा खुशि व्यक्त गरे । उनले आफूले पनि मेयरमा निर्वाचित भएकै बेलादेखि नगरको शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरिरहेकोले यस्ता संस्थाहरुको आगमनले लक्ष्य प्राप्तिमा सहजता हुने विश्वास व्यक्त गरे । आगामी दिनमा आफूहरुले सक्नेजति सहयोग गर्ने बताउँदै मेयर साहले जुन उदेश्यले कार्यालय संचालनमा आएको हो, सोही अनुसार कार्य गर्न संस्थालाई सल्लाह दिनुभयो ।

शाखा प्रमुख भरत साहको अध्यक्षतामा भएको कार्यालय उद्घाटन कार्यक्रममा हरिपुर्वा नगरपालिकाका विभिन्न वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु, संस्थाका कर्मचारीहरु र संस्थाका सेवाग्राही स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

Comments
Loading...