सर्लाहीमा बागमती र बाके नदीले बगाउँदा २ को मृत्यु

मुकेश झा

साउन २३ ,सर्लाही रौतहटको सिमामा रहेको बागमती नदी र सर्लाही महोत्तरीको सिमामा पर्ने बाके नदीले बगाउँदा दुई जनाको ज्यान गएको छ ।

मृत्यु हुनेहरुमा रौतहटको गढिमाई नगरपालिका २ घर भएका ६६ वर्षीय सहिद रायलाई बागमती नदीमा आएको बाढीले बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ। बागमती नदीमा पुल तर्न लाग्दा रायलाई बगाएपछि स्थानीयले नदीबाट उद्धार गरि अस्पताल पुर्‍याए लगत्तै डाक्टरले मृत घोषणा गरेका थिए ।सर्लाही हजरियामा रहेको खेतमा काम गर्न आउँदै गर्दा नदीले बगाएको स्थानीयले बताएका छन्।

यस्तै सर्लाही–महोत्तरीको सीमा भएर बग्ने बाँके खोलामा आएको बाढीले बगाउँदा हरिपुर्वा नगरपालिका–९ बगेवा बसन्तपुरका ६० वर्षीय भोला चौधरीको मृत्यु भएको छ । सोमबार राति नै घर परिवारबाट सम्पर्कविहीन भएका चौधरीको शव मंगलबार खोलामा डुबेको अवस्थामा फेला परेको गौरीशंकर प्रहरीचौकी इन्चार्ज नन्दलाल बैठाले जनाएको छ । मादक पदार्थ सेवनको लत्तमा फसेका उनी के कति कारणले खोलामा गएको भन्ने बारेमा बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लगातार केहीदनि देखि पहाडी तथा हिमाली क्षेत्रमा परिरहेको पानीका कारण सर्लाही भएर बग्ने नदिहरु उच्च जोखिममा रहेको छ । त्यसैगरी लखन्देही नदीमा आएको बाढीले सर्लाही कौडेना गाउँपालिकाको केही वडा डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सर्लाही प्रहरी नायव उपरीक्षक दिपेन्द्र पंजियारले जानकारी दिनुभयो । त्यसैगरी सोमबार रातिदेखि परेको पानीले कच्ची सडक बगाउँदा सिन्धुली र सर्लाहीको चुरे क्षेत्रमा यातायात ठप्प भएका छन् ।त्यस क्षेत्रमा सवारीसाधन संचालन हुन अब धेरै दिन लाग्ने स्थानीयले बताएका छन् ।

Comments
Loading...