सर्लाहीमा सेवा निवृत प्रनाअ गनीलाई विदाई तथा प्रकोनि पुरीलाई स्वागत

राधेश्याम कुश्वाहा २०७८ चैत्र १९ सर्लाही

नापी कार्यालय, सर्लाही , मलंगवाका प्रमुख नापी अधिकृत नसीमुल गनी सेवा निवृत्त भएका छन् ।

कर्मचारी मिलन केन्द्र, सर्लाहीले एक कार्यक्रम आयोजना गरी बाराको वसतपुर गापा–३, निवासी सेवा निवृत्त प्रमुख नापी अधिकृत गनीलाई विदाई गरेको छ । केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम तथा अध्यक्ष रामदरेश राय यादवले संयुक्त रूपमा कदर पत्र, माला, अविर तथा गम्छा ओढाएर विदाई गर्नु भयो ।
वि.सं. २०५१ बाट निजामती सेवा प्रवेश गरेका प्रमुख नापी अधिकृत गनीले आजदेखि सेवा निवृत्त भएका हुन् ।

उहाँले करिव २८ वर्षको लामो समय नेपाल सरकारको विभिन्न जिम्मेवारीमा रही काम गरेका थिए । उनी शालीन, स्वच्छ, सरल, सभ्य, मेहनती, बौद्धिक एवं सजग व्यक्तित्वका रुपमा परिचित थिए ।
सो कार्यक्रममा केन्द्रका संरक्षक एवं प्रजिअ गौतम तथा केन्द्र का अध्यक्ष यादवले कोष तथा लेखा नियन्त्रण कार्यालय, सर्लाहीको प्रमुख कोष नियन्त्रकको भर्खरै जिम्मेवारी पाउनुभएका जीवन राज पुरीलाई अविर, माला र गम्छा ओढाएर स्वागत गरे ।कार्यक्रममा आकर्षक व्यक्तित्व प्रमुख नापी अधिकृत गनीले जागिरे जीवनको भोगाइका कुरा राख्दै कुशलतापूर्वक सेवा निवृत हुन पाएकोमा खुशी व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रका संरक्षक एवं प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले सेवा निवृत प्रनाअ गनीको दीर्घायु, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गर्नु भयो । त्यसैगरी प्रमुख कोष नियन्त्रक पुरीको सफल कार्यकालको शुभकामना   दिए ।

केन्द्रका अध्यक्ष रामदरेश राय यादवले सेवा निवृत प्रनाअ गनीको सेवा निवृत जीवन समाजसेवामा समर्पित होस् भनी कामना गर्दै भर्खरै प्रमुख कोष नियन्त्रक जीवन राज पुरीको सफल कार्यकालको शुभकामना दिए ।
कार्यक्रम केन्द्रका अध्यक्ष रामदरेश राय यादवको अध्यक्षता, प्रजिअ थानेश्वर गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ, भने कार्यक्रम केन्द्र का सचिव सुनिल कुशवाहाले संचालन गरेका थिए ।

Comments
Loading...