पूर्वपश्चिम राजमार्गको सडक बिस्तारमा पत्रकार पौडेल घाइते,उपचारमा उचित प्रवन्ध मिलाउन माग
मुकेश झा
हरिवन, १३ चैत – नेपाल पत्रकार महासंघ सर्लाही शाखाले पूर्वपश्चिम राजमार्ग विस्तार गर्न रुख कटान गर्दा रुखले च्यापिएर घाइते भएका पत्रकार प्रेमनाथ पौडेलको उपचारमा उचित प्रवन्ध मिलाउन माग गरेको छ ।
चैत ११ गते सर्लाहीबाट बर्दिवासतर्फ जाँदै गर्दा लक्ष्मीनियाँ चोक नजिक हाइवे बढाउन काटिएको रुख ढलेर च्याप्दा हरिवन नगरपालिका ४ सासापुर निवासी पत्रकार पौडेल र उनका दाइ विश्वनाथ पौडेल शक्त घाइते भएका हुन् । काट्दै गरेको रुख ढलेर उनीहरु चढेको प्रदेश २–०३–०१८ प ५४२९ नम्वरको मोटरसाइकल च्यापिएको थियो ।
रुखले च्यापिएर घाइते पौडेल दाजुभाईलाई राजमार्ग विस्तारमा खटिएका कामदारहरुले तत्कालै बर्दिवासस्थित जनसेवा अस्पताल लगेका थिए । उनीहरुको अहिले अपाङ्ग अस्पताल जोरपाटीमा आफ्नो व्यक्तिगत खर्चमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
नेपाल पत्रकार महासंघ सर्लाही शाखाले विज्ञप्ती जारी गर्दै घाइते पत्रकार पौडेल दाजुभाईको सम्पूर्ण उपचार प्रवन्ध गर्न र उचित क्षतिपूर्ति दिलाउन माग गरेको हो ।
परिवारका सदस्यका अनुसार घटनाको प्रकृति नियाल्दा राजमार्गमा गुड्ने सवारीलाई समेत ध्यान नदिइ लापरवाही ढंगले रुख ढालेको पाइएकाले दोषीमाथि कारवाही गर्न पनि नेपाल पत्रकार महासंघ सर्लाही शाखाले माग गरेको छ ।