आज हरिशयनि एकादशी तुलसी रोप्ने दिन

कृष्णकान्त शास्त्रीय

१४ गते सर्लाही  । आषाढ मासको शुक्ल पक्षको एकादशी तिथिलाई ‘हरिशयनी एकादशी भन्ने गरिन्छ । ‘हरि’ भन्नाले भगवान् विष्णुलाई बुझिन्छ । ‘शयन’ को अर्थ सुत्नु हो । आषाढ शुक्ल पक्षको एकादशी तिथिमा भगवान् श्रीहरि क्षीरसागरमा गई शेषनागमाथि शयन गर्नुहुने भएकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो । पुराणहरूमा उल्लेख भएअनुसार भगवान् श्रीहरि यस दिनदेखि चार महिनासम्म क्षीरसागरमा शेषनागरूपी शय्यामा शयनगर्नुहुन्छ। आषाढको शुक्ल एकादशीमा शयन गरी भाद्र शुक्ल एकादशीमा कोल्टे फेर्नुहुन्छ र कार्तिक शुक्ल एकादशीमा जाग्नुहुन्छ। यसर्थ पछिल्ला दुई एकादशीलाई क्रमशः हरिपरिवर्तिनी र हरिबोधिनी एकादशी भनिन्छ । समग्र मानवजातिलाई भगवानका यी क्षणहरू परम कल्याणदायी मानिन्छन्। यसर्थ इतिहास, पुराण एवं धर्मशास्त्रहरूमा यी क्षणहरूलाई उत्सवका रूपमा मनाउन निर्देश गरिएको छ ।
स्कन्दपुराणमा आषाढ शुक्लपक्षको एकादशीमा भगवानको शयनोत्सव मनाउनुपर्छ भनिएको छ। ब्रह्मपुराण, भविष्यपुराण र वराहपुराणमा पनि भगवानको शयन, परिवर्तन र जागरण हुने समयमा उत्सव मनाउनुपर्ने वचन पाइन्छ।

 


आषाढ शुक्लपक्षको एकादशीका दिन उपवास गरी विधिपूर्वक चातुर्मास्य व्रत प्रारम्भ गर्नुपर्छ । ब्रह्मवैवर्त पुराणमा एकादशीको माहात्म्य एवं व्रतीले पालना गर्ने विधिविधान उल्लेख गरिएको छ। व्रतीले विशेष रूपमा शरीर शुद्धिका साथै आहार- व्यवहारमा शास्त्रोक्त निषेधको परिपालना गर्नुपर्छ। यस व्रतमा निराहार उपवासलाई उत्तम मानिएको छ । तर फल, फूल, तिल, दूध, दही, मोही, पानी, घिउ आदि खाएर पनि व्रत- उपवास गर्न सकिन्छ। एकादशी व्रतमा अन्न भने खान हुँदैन । भनिन्छ, सबै पापहरू एकादशीका दिन अन्नमा गएर बसेका हुन्छन्। व्रत बस्दा मुख्यरूपले शारीरिक अवस्था विचार गर्नुपर्दछ। यसर्थ बेलुकीको हविष्यान्नलगायत सात्विक भोजनलाई एकादशीमा निषेध परिपालनाकै रूपमा लिने गरिन्छ ।

एकादशी व्रतलाई नित्यकर्मका रूपमा पालना गर्नुपर्दछ । नगर्दा दोष लाग्ने र गर्दा विशेष कामना पूर्ति नहुने कर्म नित्य  हो । गर्दा फल मिल्ने तर नगर्दा दोष लाग्ने कर्मलाई नैमित्तिक कर्म भन्दछन्। यस्तै गर्दा फल मिल्ने र नगर्दा दोष नलाग्ने कर्म काम्य हुन्छ। एकादशी व्रत पालन नगर्दा भगवानको उत्सवप्रति बेवास्ता र शास्त्रहरूकै अवज्ञा हुने हुँदा यो नित्यकर्म नै हो । हरिशयनी एकादशी कै दिन तुलसी रोप्नु पर्छ।
विधिपूर्वक व्रत बस्दा विभिन्न फल प्राप्त हुने शास्त्रमा उल्लेख छ ।

Comments
Loading...